वृद्धवृद्धालाई शरीर बन्धक बनाई डाँका चोरी गर्ने गिरोहलाई रामेछाप प्रहरीले आइतबार भक्तपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३३ वर्षीय पशुपति श्रेष्ठ र ३२ वर्षीय दीर्घराज मोक्तान, सिन्धुलीको घ्याङलेक गाउँपालिका– २ का २५ वर्षीय सुमन जर्घामगर, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पीताम्बर गहतराज र धनकुटाको बेलाहारा नगरपालिका–५ का ३८ वर्षीय गुणराज विश्वकर्मा रहेका छन्।
उनीहरूले भदौ १८ गते राति रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र उनकी श्रीमती ८६ वर्षीया कान्छीमाया तामाङको घरमा गरगहना र नगद लुटपाट गरेका थिए। वृद्ध दम्पतीको मुख र आँखा थुनेर तथा हात बाँधेर लुटपाट गरी भक्तपुरका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका प्रहरीले जनाएको छ।
उक्त घटनाका मुख्य आरोपी पशुपति श्रेष्ठसहितको टोलीले खाँडादेवी गाउँपालिकाको रुद्रेश्वर महादेव मन्दिरमा रहेको दानपेटिकासमेत फुटाई त्यहाँ भएको रकम चोरी गरेको थियो। त्यस्तै, असार १ गते खाँडादेवी गाउँपालिका–३ की सुन्दरी श्रेष्ठको घरबाट एउटा खसी र भदौ ७ गते खाँडादेवी गाउँपालिका–३ भिरपानीका रामबहादुर श्रेष्ठको एउटा बोकासमेत चोरी गरेको उनीहरूसँगको बयानमा खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए।
खाँडादेवी गाउँपालिकाका विभिन्न वडामा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने समूह पटके चोरीमा संलग्न रहेको खुलेको छ। जसमा डाँका तथा चोरीका मुख्य नाइके मानिएका पशुपति श्रेष्ठ काठमाडाैंका विभिन्न स्थानमा सुनको सिक्री लुट्ने घटनामा संलग्न रहेको पाइएको छ। २०८० असोज १४ गते प्रहरी वृत्त कालीमाटीले उनीविरुद्ध डाँका तथा चोरी कसुरमा मुद्दा चलाएको थियो। दीर्घराज मोक्तान अभद्र व्यवहार र गुणराज विश्वकर्मा जुवासम्बन्धी कसुरमा मुद्दा चलेका व्यक्ति भएको रामेछाप प्रहरीले जनाएको छ।
यसैगरी, भदौ १८ गते रामेछापको सुनापती गाउँपालिका–२ दिमीपोखरीका ७५ वर्षीय इमानसिं तामाङको घरबाट ७८ हजार चोरी गरेको अभियोगमा थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका–२ नयाँ पानी ट्यांकी टोलका ३४ वर्षीय आकाश लामा र उनका छोरा १९ वर्षीय सन्दीप तामाङ रहेका छन्।