भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित बेलकोटगढी नगरपालिकाका पीडित परिवारलाई नगरपालिकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
बाढीबाट घर पूर्णरूपमा क्षति भएका तथा परिवारका सदस्य गुमाएका वा बेपत्ता भएका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आगामी नगर कार्यपालिकाको बैठकबाट अनुमोदन हुने गरी राहत तथा पुनर्स्थापनासम्बन्धी विभिन्न निर्णय गरेको हो। उक्त निर्णय कार्यान्वयनका लागि नगरपालिकाले सूचना जारी गर्दै सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
नगरपालिकाका अनुसार बाढीका कारण घर पूर्ण रूपमा क्षति भई बस्न योग्य नभएका तथा परिवारका सदस्य गुमाएका वा बेपत्ता भएका बेलकोटगढी नगरवासी परिवारलाई तत्काल राहतस्वरूप प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री तथा अस्थायी आवासको व्यवस्थासमेत भइरहेको नगरपालिकाले जनाएको छ।
त्यस्तै, बाढीका कारण खेतीयोग्य जग्गाजमिन बगाएर वा पुरिएर गुमाएका किसान परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
राहत वितरणका लागि घर पूर्ण रूपमा क्षति भएका तथा परिवारका सदस्य गुमाएका वा बेपत्ता भएका पीडित परिवारको वास्तविक विवरण तीन दिनभित्र सम्बन्धित वडाध्यक्ष र वडासचिवमार्फत अनिवार्य रूपमा प्रमाणित गरी नगरपालिकामा उपलब्ध गराउन आग्रह गरिएको छ।
बाढीबाट प्रभावित नागरिकलाई राख्न सञ्चालनमा रहेका अस्थायी आवास केन्द्रसमेत स्थानान्तरण गरिने भएको छ। नगरपालिकाका अनुसार वडा नम्बर ७ स्थित तिलादेवी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको अस्थायी आवास केन्द्र वडा नम्बर ७ कै रातमाटे क्षेत्रमा रहेको श्री महादेव माध्यमिक विद्यालयमा सारिनेछ।
त्यस्तै, वडा नम्बर ८ मा सञ्चालन भइरहेको अस्थायी आवास केन्द्र वडा नम्बर ७ स्थित वागमा स्थानान्तरण गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
