पुल बगेपछि तुइनको भर : त्रिशूली नदीमा तीन तुइन सञ्चालन, थप तीन निर्माण हुँदै

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले त्रिशूली नदीमाथिका पुल बगाएपछि विच्छेद भएको जनजीवनलाई जोड्न बागमती प्रदेश सरकारले तुइनलाई तत्काल वैकल्पिक पूर्वाधारका रूपमा अगाडि बढाएको छ।

सडक र पुल पुनर्निर्माणमा समय लाग्ने भएपछि प्रदेश सरकारले त्रिशूली नदीका विभिन्न स्थानमा तुइन जडानलाई प्राथमिकता दिएको हो।

बागमती प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय, नुवाकोटले हालसम्म त्रिशूलीबजार, इन्द्रयानी र देवीघाट गरी तीन स्थानमा तुइन जडान सम्पन्न गरेर सञ्चालनमा ल्याएको छ । कार्यालयका प्रमुख सुजन थापाका अनुसार सुरुमा पाँच स्थानमा मात्रै तुइन जडान गर्ने योजना बनाइएको भए पनि प्रभावित क्षेत्रबाट माग बढेकाले आवश्यकताअनुसार संख्या थप्नुपर्ने अवस्था आएको छ ।

उनका अनुसार अब वेत्रावती, भैँसे र सिमचौरमा पनि एक–दुई दिनभित्र तुइन जडान गरिनेछ । त्यसबाहेक सम्पर्कविच्छेद बनेका अन्य स्थानबाट समेत माग आएकाले थप स्थानमा तुइन विस्तार गर्ने तयारी भइरहेको उनले बताए।

भोटेकोशीको बाढीले त्रिशूली नदीमाथिका पुल बगाएपछि राहत, उद्धार, स्वास्थ्य सेवा तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा ठुलो समस्या उत्पन्न भएको थियो। सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध हुँदा स्थानीय बासिन्दाले नदी वारपार गर्न हेलिकोप्टर वा जोखिमपूर्ण वैकल्पिक उपायको भर पर्नुपर्ने अवस्था थियो। यही समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकारले तत्काल प्रयोग गर्न मिल्ने संरचनाका रूपमा तुइन निर्माण सुरु गरेको हो।

पूर्वाधार विकास कार्यालयका प्रमुख थापाका अनुसार पुल पुनर्निर्माण सम्पन्न नभएसम्म अत्यावश्यक आवतजावतलाई निरन्तरता दिन तुइन, अस्थायी पुल र अन्य वैकल्पिक संरचना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए।

विदुर नगरपालिका– १ का वडाध्यक्ष लेनिन रञ्जितले तुइन सञ्चालनमा आएपछि स्थानीयको दैनिकी सहज बनेको बताए । उनका अनुसार अहिले स्थानीयले सहज रूपमा नदी वारपार गर्न, खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री ओसारपसार गर्न सकिरहेका छन् । बाढीपछि राहत सामग्री पारि पुर्याउन वा बिरामीको उद्धार गर्न अरुको पर्नुपर्ने अवस्था अहिले धेरै हदसम्म अन्त्य भएको उनको भनाइ छ ।

यता बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपतकाे समयमा नागरिकको आवश्यकता पूरा गर्न प्रदेश सरकार निरन्तर सक्रिय रहेको बताएका छन् । उनले देवीघाटमा तुइन सञ्चालनमा आएसँगै स्थानीयको आवतजावत तथा खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्री ढुवानी सहज भएको उल्लेख गर्दै यस्ता संरचनाले संकटको समयमा जनजीवनलाई सामान्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

मुख्यमन्त्री थापाले विपत्, अभाव र कठिनाइका वेला साना देखिने यस्ता पूर्वाधारले नागरिकको दैनिक जीवनमा ठुलो प्रभाव पार्ने भएकाले प्रदेश सरकारले अस्थायी भए पनि प्रभावकारी पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

सुझावित समाचार