रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ। अझै चार हजार ४४ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष र ४९३ शव पहिचान हुन नसक्ने अवस्थामा रहेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार अझै हजारौँ मानिसको अवस्था अज्ञात छ। सम्पर्कविहीनमध्ये दुई हजार ८६३ स्वदेशी पुरुष, ५७५ स्वदेशी महिला, २६९ विदेशी पुरुष, ३३२ विदेशी महिला र पाँच अन्य रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये एक हजार ३७ शव सुरक्षित रूपमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।
बाढीपछि हालसम्म नाै हजार १५१ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।
शवको पहिचान तथा मृतक र बेपत्ताको विवरण यकिन गर्न ‘डिएनए’ परीक्षणलाई समेत प्राथमिकता दिइएको छ। हालसम्म एक हजार २८६ मृतक र मृतकका आफन्त एक हजार १८६ जना गरी दुई हजार ४७२ जनाको डिएनए नमुना संकलन गरिएको छ।
प्रवक्ता काफ्लेले बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि डिएनए नमुना संकलनलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए।
भोटेकोशी बाढीपछि ठुलो मानवीय क्षति भएको छ। बेपत्ताको खोजी, घाइतेको उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन्।