सत्तापलटको डेढ दशकपछि पनि पुरानै संकटको चपेटामा ट्युनिसिया

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

ट्युनिसियामा जीवनयापनको लागतसम्बन्धी संकटले क्रान्तिअघिको दिनलाई समेत बिर्साउने अवस्था आएको छ, जुन अवस्थाकै कारण तत्कालीन सरकार अपदस्थ भएको पनि १६ वर्ष भईसकेको छ । १७ डिसेम्बर २०१० मा सिदी बुजिदमा सडक व्यापारी मोहम्मद बौअजिजीले प्रहरीको वर्षौं लामो दुर्व्यवहारपछि आत्मदाह गरेका थिए । यस घटनाले बेरोजगारी, भ्रष्टाचार, बढ्दो महँगी र प्रहरी दमनविरुद्धको विरोध प्रदर्शनलाई जन्म दियो । ‘अरब स्प्रिङ’का रूपमा परिचित यस क्रान्तिले अन्ततः लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति जिन अल–अबिदिन बेन अली र अरब विश्वका अन्य चार नेतालाई सत्ताच्युत गर्यो ।

तर, करिब १६ वर्ष बितिसक्दा पनि ट्युनिसियालीहरू जीवनयापनको लागतसम्बन्धी गहिरो संकटको सामना गरिरहेका छन्, जसलाई कतिपयले पहिलेभन्दा पनि खराब अवस्था भनेका छन् । दैनिक उपभोग्य वस्तुको मूल्यमा कति परिवर्तन आएको छ भनेर देखाउन अलजजिराले सामान्य खाद्य वस्तुको मूल्यको अध्ययन गर्यो र तिनलाई सन् २०१० को मूल्यसँग तुलना गर्यो ।

डलरको तुलनामा दिनारको मूल्य आधा घटेको छ । सन् २०१० को डिसेम्बरमा एक अमेरिकी डलरले १.४७ ट्युनिसियन दिनार साट्न सकिन्थ्यो । आज सोही डलरले २.९३ दिनार आउँछ । यसको अर्थ हरेक दिनारको मूल्य १५ वर्षअघिको तुलनामा आधा (४९ प्रतिशत) मात्र छ । ट्युनिसियाले आफ्नो अधिकांश खाद्य सामग्री विदेशबाट खरिद गर्छ र त्यसको भुक्तानी डलर र युरोमा गर्छ । दिनारको मूल्य घट्दा सामग्रीको खरिद लागत बढ्छ र उपभोक्ताले भुक्तानी गर्ने वेला यसको असर काउन्टरसम्म महसुस गर्छन् ।

उपभोक्ताको ढाड सेक्ने मूल्यवृद्धि
देशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ, जसको वास्तविकता सुपरमार्केटका मूल्यले झल्काउँछन् । सन् २०१० मा आठ ट्युनिसियन दिनारमा चार केजी गोलभेडा, आधा केजी कुखुराको मासु र एक लिटर खाना पकाउने तेल किन्न सकिन्थ्यो । आज त्यही आठ दिनारमा त्यसको आधाभन्दा पनि कम परिमाणमा सामान किन्न सकिन्छ । यस अवधिमा गोलभेडाको मूल्य ११३ प्रतिशत, कुखुराको मासुको मूल्य ११८ प्रतिशत र खाना पकाउने तेलको मूल्य १२९ प्रतिशतले बढेको छ ।

तरकारीको मूल्य अझ बढेको छ । सन् २०१० को तुलनामा अहिले गाजरको मूल्य ४२८ प्रतिशत (अर्थात् पाँच गुणाभन्दा बढी) र आलुको मूल्य २६८ प्रतिशतले बढेको छ । सूचीमा पहिले नै सबैभन्दा महँगो रहेको राँगाभैँसीको मासुको मूल्य २९० प्रतिशतले (करिब चार गुणा) बढेर प्रतिकिलोग्राम ५२.५ दिनार (करिब १८ डलर ) पुगेको छ । मूल्यमा कडा नियन्त्रण कायम रहेको चामल भने यस मामिलामा अपवाद देखिएको छ । चामलको मूल्य भने १० प्रतिशतले मात्र बढेको छ ।

अनुदान प्राप्त वस्तुबाहेक अन्य सामानको मूल्यवृद्धि स्पष्टै देखिएको एल जेमका ५५ वर्षीय अब्देसत्तार बताउँछन् । ‘२०, ३० वा ४० दिनारले अब खासै धेरै सामान किन्न सकिँदैन भन्ने महसुस हुन्छ,’ उनले भने । गत वर्षयता घिउ, चिज, सरसफाइका सामग्री र विद्यालयमा खाने खाजा, सबैको मूल्य बढेको छ ।

सन् १९७० मा ‘जनरल कम्पन्सेसन फन्ड’ स्थापना गरेदेखि नै ट्युनिसियाले आधारभूत खाद्यवस्तुमा अनुदान दिँदै आएको छ । सरकारले केही मुख्य खाद्य वस्तुको मूल्य बजार दरभन्दा कम कायम राख्छ र बजार मूल्य तथा तोकिएको मूल्यबिचको फरक रकम उत्पादक तथा आयातकर्तालाई भुक्तानी गर्छ ।

यद्यपि, दशकौँको अवधिमा यस सूचीबाट विभिन्न वस्तु हटाइएका छन् । सन् २०२२ को अन्त्यतिर अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण प्राप्त गर्न सरकारले सबैका लागि उपलब्ध खाद्य अनुदानलाई क्रमशः हटाएर लक्षित नगद हस्तान्तरण प्रणाली लागू गर्ने सहमति जनाएको थियो । तर, राष्ट्रपति काइस साइदले सन् २०२३ मा यी सर्तको कार्यान्वयन रोकिदिए । परिणामस्वरूप दुई तहको बजार अवस्था सिर्जना भएको छ, अनुदान प्राप्त वस्तुहरूको मूल्य स्थिर रहेको छ भने अनुदान नपाउने खाद्यवस्तुको मूल्यमा भारी वृद्धि भएको छ । हामेद अल–मात्री एक इन्जिनियर तथा राजनीतिकर्मी हुन्, जो हाल कतारमा बसोवास गर्छन् । सन् २०१० को जनविद्रोहका वेला उनी ट्युनिसियामै थिए र आफू त्यस आन्दोलनको अग्रपंक्तिमा रहेको बताउँछन् । अल–मात्री स्मरण गर्छन् कि उक्त विद्रोह रोजगारी, स्वतन्त्रता र सम्मानलगायत सामाजिक–आर्थिक मागले प्रेरित थियो ।

‘त्यतिवेला अपेक्षा निकै उच्च थियो । तर, आजको वा विगत १५ वर्षको परिस्थितिलाई हेर्दा नतिजा साँच्चै नै अत्यन्त निराशाजनक देखिएका छन्,’ उनले अलजजिरालाई बताए ।

अल–मात्रीका अनुसार यी १५ वर्षलाई एउटै अवधिका रूपमा हेर्न मिल्दैन । उनले सन् २०११ देखि २०२१ सम्मको समयलाई ‘अल्मलिँदै अघि बढेको लोकतान्त्रिक संक्रमणकाल’ भनेका छन् भने त्यसपछिको अवस्थालाई ‘अत्यन्त आक्रामक वाक्शैली, तर अस्पष्ट नीति भएको एक प्रकारको अधिनायकवादी शासन’ भनी वर्णन गरेका छन् । अल–मात्रीका अनुसार विगत पाँच वर्षमा ट्युनिसियाको अर्थतन्त्र धराशयी नभए पनि निकै कमजोर भएको छ । उनी बताउँछन् कि लगानी लगभग ठप्प भएको छ र अर्थतन्त्र शिथिलताको अवस्थामा पुग्नै लागेको छ ।

भरपर्दो छैन सार्वजनिक यातायात
ट्युनिसका ४४ वर्षीय यासिन आफ्ना आठ छोराछोरीलाई नयाँ शैक्षिक सत्रका लागि तयार पार्ने ध्याउन्नमा छन् । तर, स्टेसनरी र विद्यालयको चर्को शुल्कका कारण उनी चिन्तित छन् । उनी भन्छन्, ‘सहुलियत मूल्यका कापी र अन्य सस्ता शैक्षिक सामग्री पसलबाट हराइसकेका छन् । त्यसैले, परिवारले एक–अर्कासँग पुराना (सेकेन्ड–ह्यान्ड) किताब र सामग्री किन्ने गरेका छन् ।’ यातायात अर्को चिन्ताको विषय हो । उनी भन्छन्, ‘सार्वजनिक यातायात अब भरपर्दो छैन, त्यसैले हामी निजी यातायात प्रयोग गर्न बाध्य छौँ । यो हरेक ट्युनिसियालीका लागि ठुलो चिन्ताको विषय हो ।’ उनी खाना पकाउने तेलतर्फ औँल्याउँदै भन्छन्, ‘कुनै समय प्रतिलिटर एक दिनार पर्ने तेल अहिले प्रतिलिटर पाँच दिनारमा बिक्री भइरहेको छ । यसको दबाब हरेक अवसरमा देखिन्छ । यासिनका अनुसार हालैको इदको विदामा उनले चिनेका धेरैजसो मानिसले राम्ररी चाड मनाउन सकेनन् र धेरैले पुराना (सेकेन्ड–ह्यान्ड) लुगाफाटामा चित्त बुझाए ।

आधारभूत आवश्यकता पूरा गर्न धौधौ
ट्युनिसस्थित एक कारखानाकी कामदार ४५ वर्षीया हानेनका अनुसार मूल्य यति तीव्र गतिमा बढेको छ कि ‘मानिसहरू अब आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सक्दैनन् ।’ उनका अनुसार कुनै समय प्रतिकिलो २० दिनारमा पाइने रातो मासुको मूल्य अहिले ६० दिनार वा सोभन्दा बढी पुगेको छ । औषधिको मूल्य पनि दिनहुँ बढिरहेको छ । फलफूल र तरकारीका साथै डिब्बामा राखिएका गोलभेडा, चिनी र खाना पकाउने तेलजस्ता अत्यावश्यक वस्तुको मूल्यमा पनि भारी वृद्धि भएको छ । ‘मूल्यवृद्धि अत्यधिक छ । यो अस्वाभाविक छ,’ उनी भन्छिन् ।

(चुगताई र अली दुवै तथ्यांकसम्बन्धी पत्रकार हुन् ।)

अलजजिराबाट

सुझावित समाचार