आयल निगमले ग्यासको भाउ बढाउन दुई दिनअघि नै स्वीकृति दिएको थियो । निगमले पेट्रोलियम पदार्थको मूल्य आगामी १५ दिनलाई यथावत् राखेको जानकारी दिन मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि दुई हजार ६० रुपैयाँ प्रतिसिलिन्डर मूल्य कायम गरिएको उल्लेख थियो ।
यसको अर्थ, ग्यास उद्योगदेखि ५० किलोमिटरभन्दा टाढाका उपभोक्तालाई भने ढुवानी लागतअनुसार मूल्य तोक्न स्वीकृति दिएको थियो । त्यसअघिका कुनै पनि विज्ञप्तिमा निगमले ग्यासको भाउ ५० किलोमिटरभन्दा परको दूरीमा ढुवानी लागतअनुसार निर्धारण हुनेबारे उल्लेख गरेको पाइँदैन ।
निगमले मंगलबार साँझ यस्तो विज्ञप्ति निकाल्नुअघि आइतबार कृष्णभिरमा पहिरो गएकै दिन ग्यास उद्योगीसँग छलफल गरेर तराईका बोटलिङ प्लान्टमा सिलिन्डर भरेर वैकल्पिक मार्गबाट ग्यास ल्याउन छलफल गरेको थियो ।
उक्त छलफलमा पनि निगम अधिकारीहरूले ढुवानी लागतअनुसार ग्यासको भाउ समायोजन गर्न दिने संकेत गरेका थिए । निगमले ढुवानी लागत जोडेर मूल्य तोक्न स्वीकृति दिएपछि मात्रै उद्योगीहरू तराईबाट ग्यास ल्याउन तयार भएका थिए ।
निगमका प्रतिनिधिसमेत बसेर बुधबारै गरेका थिए ढुवानी लागतमा सहमति
जिल्ला प्रशासन कार्यालय, मकवानपुरको रोहवरमा मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ, ग्यास उद्योग र आयल निगमका प्रतिनिधिबिच बुधबार तराईबाट काठमाडौंसम्म ग्यास ढुवानी गर्दाको लागतबारे सहमति भएको थियो ।
सहमतिअनुसार हेटौँडाबाट काठमाडौंसम्म ठुलो ट्रकको भाडादर ८० हजार र ६ चक्के ट्रकको भाडादर ५५ हजार तोकिएको छ । त्यस्तै, चितवनको खुरखुरेबाट नेपाल ग्यास काठमाडौं ल्याउँदा ठुलो ट्रकको ९३ हजार, नवलपुरको गैँडाकोटस्थित जानकी ग्यास काठमाडौं ल्याउँदा ठुलो ट्रकको ९८ हजार, चितवनको पर्साआसपासका उद्योगबाट काठमाडौं ग्यास ल्याउँदा ठुलो ट्रकको ९३ हजार, बाराको सिमरा–जितपुर क्षेत्रका उद्योगबाट काठमाडौंमा ग्यास ल्याउँदा ठुलो ट्रकको ९० हजार र बाराको कलैया तथा पर्साको वीरगन्ज क्षेत्रबाट काठमाडौं ग्यास ल्याउँदा ९५ हजार रुपैयाँ ढुवानी भाडादर तय भएको छ ।
यी सबै भाडादर मूल्य अभिवृद्धि करबाहेक हो । ढुवानी भाडा भुक्तानी गर्दा भ्याट बिल जारी गर्ने सहमति भएको छ । यसरी ढुवानी भाडादर निर्धारण गर्दासमेत आयल निगमका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।