तराईका विभिन्न उद्योगमा ग्यास भरेर २४ हजार पाँच सय सिलिन्डर काठमाडौंका लागि निस्किएका छन् । ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार बिहीबार साँझ ५ बजेसम्म ग्यास बोकेका ६७ साना–ठुला ट्रक हेटौंडाबाट काठमाडौंतर्फ प्रस्थान गरेका हुन् ।
‘बिहीबार साँझ ५ बजेसम्म ६७ ट्रकमा विभिन्न कम्पनीका ग्यास हेटौँडाबाट काठमाडौंतर्फ निस्किएका छन्,’ उनले भने, ‘शुक्रबार बिहानसम्म ट्रक काठमाडौं आइपुग्छन् । त्यसपछि, शुक्रबार दिउँसो नै विभिन्न डिलरमा ग्यास पठाइनेछ ।’ उनका अनुसार खाली सिलिन्डरको अभाव रहेका कारण बिहीबार थप ट्रकमा ग्यास पठाउन नसकिएको हो ।
‘सबै खाली सिलिन्डर काठमाडौंमा छन् । ग्यासचाहिँ तराईका उद्योगमा थुप्रिएका छन्,’ उनले भने, ‘बिहीबार साँझ काठमाडौंबाट ठुलो संख्यामा खाली सिलिन्डर तराई पठाइएको छ । त्यसैले भोलिबाट दैनिक एक सय ट्रकले काठमाडौंमा ग्यास ओसार्नेछन् ।’