रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा ब्रिफिङ लिने क्रम जारी राखेका छन्।
प्रधानमन्त्री शाहले आज एकपछि अर्को गरी सुरक्षा निकायका प्रमुखसँग भेटवार्ता गर्दै बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे जानकारी लिएका हुन्।
शाहले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी नेपाली सेनाले हालसम्म सञ्चालन गरेका खोज तथा उद्धार, राहत र व्यवस्थापनसम्बन्धी गतिविधिबारे ब्रिफिङ लिएका थिए।
त्यसपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार र राहत व्यवस्थापनबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ।
यसैगरी, प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि छलफल गरी बाढीपछिको सुरक्षा अवस्था, उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी लिनेछन्।
भोटेकोशी बाढीपछि रसुवामा उत्पन्न संकटका बिच सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र आवश्यक व्यवस्थापनलाई तीव्रता दिएको जनाएको छ।