जेफ बेजोसको कम्पनी अमेजनले हालै यसको स्वामित्वमा रहेको ‘लियो स्याटेलाइट इन्टरनेट सर्भिस’ले सन् २०२७ सम्ममा दक्षिण अफ्रिकामा प्रवेश गरिसक्ने घोषणा गर्यो । अमेजन क्षेत्रअन्तर्गतका देश (नौ देश र भूमि)को सबैभन्दा ठुलो तार सम्बन्धित इन्टरनेटप्रदायक ‘हिरोटेल’मार्फत लियो अफ्रिका प्रवेश गर्न लागेको हो । अफ्रिकामा लियोको पहिलो यस्तो खालको सम्झौता हो । सम्झौताअन्तर्गत अब लियोले तार सञ्जाल नपुगेका घर र व्यवसायलाई इन्टरेनट सञ्जालमा जोड्नेछ ।
योसँगै अमेजन पहिले नै भूउपग्रहीय इन्टरनेटले रूपान्तरण गरिसकेको बजारमा प्रवेश गर्न लागेको हो । इलोन मस्कको स्पेस–एक्सले सञ्चालन गर्ने स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारलिंक’ले आफ्ना नौ हजार स्याटेलाइटमार्फत मार्चसम्ममा १६४ देशका लगभग एक करोड ३० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । स्टारलिंक विशेषतः अफ्रिका, ल्याटिन अमेरिका र एसियामा तीव्र गतिमा विस्तार भइरहेको छ ।
भूउपग्रहीय इन्टरेट सेवामार्फत हालसम्म इन्टरनेट नपुगेका क्षेत्रहरूमा पनि त्यसको विस्तार सम्भव हुन्छ । तर, विपन्न घरपरिवारले यस्तो सेवा खरिद गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा अनिश्चित छ । तैपनि विश्वव्यापी कनेक्टिभिटीको वाचाले गहिरो जोखिम बोकेको छ : यी सेवाहरूद्वारा अनलाइनमा जोडिने समुदाय विदेशी कर्पाेरेसनमाथि अधिक निर्भर हुनुपर्ने हुन्छ ।
इलोन मस्कको स्पेस–एक्सले सञ्चालन गर्ने स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारलिंक’ले आफ्ना नौ हजार स्याटेलाइटमार्फत १६४ देशका लगभग एक करोड ३० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । स्टारलिंक विशेषतः अफ्रिका, ल्याटिन अमेरिका र एसियामा तीव्र गतिमा विस्तार भइरहेको छ ।
निश्चित रूपमा इन्टरनेट पहुँचले अध्ययन, काम, व्यापार, बैंक सञ्चालन, सञ्चार, सार्वजनिक सेवा प्राप्त गर्न र राजनीतिक जीवनमा भाग लिन सक्ने व्यक्तिहरूलाई आकार दिन्छ । नेटवर्क मालिकहरूले उनीहरूले कहाँ काम गर्छन्, मानिसहरूले कति तिर्छन् भन्ने बारेमा निर्णय गर्छन् । जस्तो, सेप्टेम्बर २०२४ मा, स्टारलिंकले मस्कको अर्को कम्पनी ‘एक्स’माथिको पहुँच रोक्न दिएको ब्राजिलको अदालतको आदेशलाई अवज्ञा ग¥यो । भलै पछि ठुलो विरोधपछि यसबाट पछि हट्न बाध्य भयो । तथापि, यस प्रकरणले कुनै इन्टरनेट नेटवर्कहरूले कसरी निजी फर्महरूलाई सरकारमाथि असाधारण लाभ प्रदान गर्ने अवस्था सिर्जना गर्छ भन्ने देखायो ।
अमेजन र स्पेस–एक्स अमेरिकाको राष्ट्रिय सुरक्षा पूर्वाधारमा सम्मिलित छन् । स्पेस–एक्सले सन् २०२५ मा अमेरिकी सरकारको राष्ट्रिय सुरक्षा प्रक्षेपणसम्बन्धी एउटा सम्झौता हासिल गरेको थियो । यसअन्तर्गत आर्थिक वर्ष सन् २०२५ र २०२९ बिच कम्पनीले २८ वटा अन्तरिक्ष प्रक्षेपण गर्नेछ, जसको कुल लागत ५.९ अर्ब डलरको हुने अनुमान छ । उता, अमेजन वेब सर्भिसेज(एडब्लुएस)ले अमेरिकी रक्षा तथा गुप्तचर नियकालाई अति गोप्य क्लाउड सेवा प्रदान गर्दछ । त्यसैले, यी कम्पनीको पूर्वाधार पहिले नै अमेरिकाको राज्यशक्तिसँग गहिरोसँग गाँसिएको छ । यस्ता कम्पनीमाथि विपन्न देशहरूका आवश्यक सञ्जाल सुम्पिदा उनीहरूको अर्थतन्त्र, संस्था र दैनिक जीवनमा अमेरिकी रणनीतिक शक्ति विस्तार हुनेछ ।
अहिलेसम्म विश्वका २.२ अर्ब मानिस इन्टरनेटमा जोडिन सकेका छैनन् । तीमध्ये ९६ प्रतिशत कम र मध्यम आय भएका देशहरूमा बस्छन् । अफ्रिकाभरि, केवल ३६ प्रतिशत मानिस मात्र इन्टरनेटमा जोडिएका छन् । ग्रामीण क्षेत्रमा अझ थोरे अर्थात् २१ प्रतिशतको मात्र इन्टरनेटमा पहुँच छ । फिक्स्ड ब्रोडब्यान्ड उपलब्ध भएका देशमा पनि यसको मल्य न्यून आय भएको देशको औसत मासिक आयको एकचौथाईभन्दा बढी पर्छ । स्याटेलाइट नेटवर्क फाइबर र मोबाइल अपरेटर पुग्न नसकेको ठाउँ पनि पुग्छ । तर, यसका लागि फेरि पनि अलग रूपमा उपकरण र बिजुली त चाहिन्छ नै ।
नाइजेरियामा, स्टारलिंकले अप्रिल २०२५ मा आफ्नो मासिक आवासीय शुल्क २८ डलरबाट ५० प्रतिशतले बढाएर ४२ डलर पु¥यायो । यसअघि नै कम्पनीले मूल्य दोब्बर बनाउने प्रयास गरेकोमा नियामक प्रतिरोधका कारण रोकिएको थियो । विदेशी कर्पाेरेसनको शक्ति बढ्दै जाँदा तिनले लोकतान्त्रिक जिम्मेवारीविना अथाह राजनीतिक शक्ति प्रयोग गर्न थाल्छन् । विदेशी पूर्वाधार, तर जिम्मेवार लिनुनपर्ने अधिकारको संयोजन अफ्रिकामा यसअघि औपनिवेशिककालमा विद्यमान थियो ।
विदेशी कर्पाेरेसनको प्रभाव अफ्रिकाभन्दा बाहिरका विकासोन्मुख देशमा पनि कायम छ । फेब्रुअरी १०, २०१५ मा, फेसबुक र भारतको रिलायन्स कम्युनिकेसन्ले इन्टरनेट डट ओआरजी नामक सेवा सुरु गर्यो । पछि ‘फ्री बेसिक्स’ नाम दिइएको त्यस सेवाअन्तर्गत भारतका ६ राज्यमा फेसबुक र निश्चित समाचार, स्वास्थ्य तथा शिक्षादेखि केही रोजगारीसम्बन्धी वेबसाइट रिलायन्सले निःशुल्क रूपमा दिनथाल्यो भने अन्य सुविधाका लागि शुल्क लाग्थ्यो । दसौँ लाख विपन्न भारतीयले यसको फाइदा त लिए । तर, यस वर्गको पहिलो अनलाइन अनुभव फेसबुक रह्यो । खासमा अन्य सेवा प्रयोग गर्न नजानेका यो समूहका लागि इन्टरनेट भनेकै फेसबुक हो भन्ने अवस्था आएको थियो । यसले स्थानीय व्यवसाय तथा इन्टरनेट प्रदायक निःशुल्क सेवाविरुद्ध प्रतिस्पर्धा गर्न नसक्ने भए ।
विरोधबिच ‘नेट तटस्थता’सम्बन्धी राष्ट्रव्यापी बहस सुरु भयो । परिणामस्वरूप भारतीय नियामकहरूले डिसेम्बर २०१५ मा रिलायन्सलाई ‘फ्री बेसिक्स’ सेवा निलम्बन गर्न आदेश दियो । त्यसपछि फेब्रुअरी २०१६ मा निश्चित वेबसाइट प्रयोगमा अलग डेटा मूल्य निर्धारण गर्ने कार्यमाथि प्रतिबन्ध लगाइयो । यो फैसलापछि फेसबुकले भारतका विपन्नहरूले अनलाइनमा के हेर्छन्, के किन्न सक्छन् भन्ने कुरामाथि निगरानी गर्न छोड्यो । भारतको नियामकले कदम चाले पनि त्यस्तै सेवा अफ्रिकी देशमा भने चलिरह्यो । जुलाई २०१९ सम्ममा, ‘फ्री बेसिक’ घाना, केन्या र नाइजेरियासहित ३० अफ्रिकी देशहरूमा विस्तार भइसकेको थियो । ‘फ्री बेसिक्स’ले फेसबुकलाई इन्टरनेटको एकल प्रवेशद्वारमा नियन्त्रण दियो ।
अहिले अमेजनले लियोमार्फत विपन्न देशका सरकार र व्यवसायहरूलाई यसको भण्डारण, विश्लेषण र कृत्रिम बुद्धिमत्ता सेवाहरूमा जोड्न खोजेको छ । अप्रिलमा, कम्पनीले अमेरिकी भूउपग्रहीय सञ्चार कम्पनी ग्लोबलस्टार अधिग्रहण गरेको छ, जसले यसका भूउपग्रहलाई सिधै उपकरणमा दिन सकिने सेवाका लागि पूर्वाधार प्रदान गर्नेछ । अमेजनको लिओमार्फत अधिकांश सेवामाथि पहुँच हासिल हुने कुराबाट खतरा हुनेछैन ।
वास्तविक खतरा तब सुरु हुन्छ, जब एउटा विदेशी निगमले कुनै देशका सरकार र व्यवसायले चलाउने डिजिटल पूर्वाधारका धेरै तहहरू आपूर्ति गर्न थाल्छ । अर्थात, प्रयोगकर्ता र बजार ग्लोबल साउथको हुन्छ भने सेवाको स्वामित्व, नाफा र नियन्त्रण भने अमेरिकामा रहन्छ । यस्तो सम्बन्ध ‘कनेक्टिभिटी डिजिटल उपनिवेशवाद’मा परिणत हुन्छ । स्टारलिंकले यस्तो शक्ति कति छिटो केन्द्रीकृत हुन सक्छ भनेर देखाउँछ । ब्राजिलमा प्रवेश गरेको तीन वर्षपछि अप्रिल २०२५ सम्ममा स्टारलिंकले तीन लाख ६२ हजारभन्दा बढी व्यक्तिगत सदस्यतासहित देशको आवासीय भूउपग्रह ब्रोडब्यान्ड बजारको पाँचमध्ये चार भाग कब्जा गरिसकेको थियो ।
तुलनात्मक रूपमा सम्पन्न ब्राजिलले हालसम्म आफ्नो भूउपग्रह पूर्वाधारको केही भागमा सार्वजनिक नियन्त्रण कायम राखेको छ । यसको एसजिडिसी उपग्रहले ९,३८० ग्रामीण विद्यालय र ३५६ स्वास्थ्य केन्द्रसहित देशका १२,००० भन्दा बढी सार्वजनिक निकायहरूलाई जोडेको छ । अर्थात्, ब्राजिलले विदेशी सेवा प्रदायकहरूलाई अपरिहार्य नभई पूरक बनाउने प्रयास गरेको छ । अफ्रिकाको दक्षिणी भेगमा अवस्थित नामिबियाले पनि स्टारलिंक देशको अपरिहार्य विकल्प हुनुभन्दा पहिले नै कदम चाल्यो । यसको नियामकले मार्च महिनामा कम्पनीको इजाजतपत्र र स्पेक्ट्रम आवेदन अस्वीकार ग¥यो । स्टारलिंक देशमा सञ्चालन गर्नका लागि स्थानीय निकायलाई ५१ प्रतिशत स्वामित्व प्रदान गर्नुपर्ने सर्त राखिएको थियो । त्यो सर्त पूरा गर्न नसकेपछि आवेदन खारेज गरिएको थियो । त्यसपछि जुनमा कम्पनीले पुनर्विचार गर्न दायर गरेको आवेदन फेरि खारेज भयो ।
नामिबियासँग जोडिएको दक्षिण अफ्रिकाको अनुभवले स्थानीय सहभागिताको भूमिका र सीमा दुवैलाई चित्रण गर्दछ । स्टारलिंकले इजाजतपत्र पाइनसकेको समयमा अमेजनले ‘हिरोटेल’सँगको साझेदारीमार्फत बजारमा प्रवेश गर्ने घोषणा गरेको छ । सम्झौताअन्तर्गत, अमेजनले भूउपग्रहीय क्षमता आपूर्ति गर्नेछ भने दक्षिण अफ्रिकी कम्पनीले ग्राहक सेवा, स्थापना र क्षेत्र सञ्चालन सम्हाल्नेछ ।
अलजजिराबाट