बाढीपीडितलाई निजी क्षेत्रको सहयोग बढ्दै

कोषमा तीन दिनमा सवा चार अर्ब थपियो, कुल मौज्दात साढे ६ अर्ब पुग्यो

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण
  • १० भदौको भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको भौतिक एवं मानवीय क्षतिमा तीन दर्जन कम्पनीको मलम लगाउने प्रयास

रसुवा बाढीको सन्नाटा सकिएको छैन । १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अकल्पनीय जनधनको क्षति पुर्‍याएको छ । सरकारले खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिइरहेको छ । यो विपत्तिमा देश–विदेशका नागरिक तथा विभिन्न संघ–संस्थाले आर्थिकदेखि राहत सामग्री सहयोग गरिरहेका छन् । नेपालकै निजी क्षेत्र, कर्पोरेट हाउसले पनि घाइतेको उपचार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग घोषणा गरेका छन् । सबैले विपत्को कठिन समयमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोड 
चौधरी फाउन्डेसन र नबिल बैंकले बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन् । यी दुवै संस्थाले बाढीबाट प्रभावित समुदायलाई राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने साझा प्रतिबद्धतासहित करिब १५ करोड रुपैयाँ उपलब्ध गराउने भएका हुन् । यो रकम बहुचरणमा कार्यान्वयन गरिने बृहत् राहत तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिनेछ । बाढी प्रभावित परिवारका तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुका साथै उनीहरूलाई आपत्कालीन राहतबाट सुरक्षित आवास, पुनर्स्थापना तथा दीर्घकालीन सामुदायिक उत्थानशीलतातर्फ अघि बढ्न आवश्यक सहयोग उपलब्ध गराइने बताइएको छ । त्यस्तै, पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि पाँच सयवटा अस्थायी आवास एकाइ निर्माण गर्न सरकार तथा स्थानीय सरकारसँग सहकार्य गरिने पनि बताइएको छ ।

उद्धार कोषमा सूर्य नेपालद्वारा १५ करोड जम्मा
सूर्य नेपाल प्रालिले बाढीप्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवं महाप्रबन्धक प्रेम अर्यालले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

आइएमई ग्रुपद्वारा कोषमा १० करोड सहयोग 
आइएमई ग्रुपले आफूमातहतका संस्थाबाट एकमुस्ट १० करोड सहयोग गर्ने भएको छ । ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोडबराबरको सहयोग घोषणा गरेको हो । ग्रुपले प्रवर्द्धन गरेका कम्पनी ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्समार्फत उक्त रकम सहयोग गर्नेछ । साथै, साझेदार कम्पनी अशोक लिलेन्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आइएमई फाउन्डेसनले पनि ग्रुपमार्फत एकमुस्ट सहयोग गर्ने भएका हुन् । त्यस्तै, ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीबाट एक दिनको तलबबराबरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ । ग्रुपले अकल्पनीय विपत्मा बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।

तीन करोडभन्दा बढी सहयोग गर्‍यो नेपाल बैंकले
बुधबार बिहान त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि नेपाल बैंक लिमिटेडले तीन करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा प्रदान गरेको हो । बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्राइम कमर्सियल बैंकको तीन करोडभन्दा बढी सहयोग
प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा तीन करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति दुखः व्यक्त गर्दै सो रकम सहयोग गरेको हो । साथै, बैंकले सात लाखबराबरको विभिन्न खाद्यान्न सामग्री सहयोग प्रदान गरेको बताएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठलगायतले उक्त सहयोग रकम माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । बैंकले देशमा आएका प्रकृतिक विपत्का समयमा सरकार तथा प्रभावित समुदायलाई आवश्यक सहयोग गर्दै आएको जनाएको छ । यसअघि पनि बैंकले विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिसकेको छ । साथै, आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि बैंकले गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको तीन करोड 
रसुवा विपत्तिमा राष्ट्रिय वाणिज्य बैंकले पनि सहयोगी हात अगाडि बढाएको छ । बैंकले बाढी प्रभावित नागरिकको उद्धार एवं राहतका लागि तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष डा. सुमन दाहालले अर्थमन्त्री वाग्लेलाई भेटी सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । यो सहयोगले राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन मद्दत पुग्ने बताइएको छ ।

कृषि विकास बैंकद्वारा तीन करोड जम्मा 
कृषि विकास बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष टंकप्रसाद पाण्डेको रोहबरमा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले तीन करोड रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । बैंकले ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

नेपाल लाइफले दियो २.५१ करोड
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख आर्थिक सहयोग जम्मा गराएको छ । कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सो रकमबराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । ‘यस सहयोगले विपत्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने विश्वास छ,’ कम्पनीले भनेको छ । साथै, कम्पनीले सबैलाई प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ ।

सानिमा बैंकमार्फत सवा दुई करोड
सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । १० भदौमा भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका निम्ति बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

एनआइसी एसिया बैंकद्वारा २.२१ करोड 
सहयोग गर्ने संस्थामा एनआइसी एसिया बैंक लिमिटेड पनि छ । यस बैंकले कुल दुई करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई करोड र सञ्चालक तथा कर्मचारीबाट २१ लाख सहयोग गरेको हो ।  बैंकका अध्यक्ष अशोककुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उल्लिखित रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको भौतिक एवं मानवीय क्षतिमा राहत उपलब्ध गराउन सहयोग गरिएको बैंकले जनाएको छ ।

पद्मज्योति ग्रुपको एक करोड
यता, पद्मज्योति ग्रुपअन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले सरकारको खातामा एक करोड रुपैयाँ आर्थिक सहयोग जम्मा गराएको छ । नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनीले विपत्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको हो । ‘यस कठिन घडीमा प्रभावित सबै परिवार तथा समुदायका साथमा छौँ,’ कम्पनीले भनेको छ । विपत्तिपछि सरकारी तथा विभिन्न सरोकारवाला निकायले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको पनि कम्पनीले प्रभावित समुदायको सामान्य जीवन पुनर्स्थापनाका लागि सामूहिक प्रयासको महत्वमा जोड दिएको छ ।

एमएडब्लू ग्रुपद्वारा एक करोड ११ लाख
एमएडब्लू ग्रुपले भोटेकोसीमा विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष विष्णु अग्रवालले अर्थमन्त्रीलाई सो रकमबराबरको चेक प्रदान गरेका हुन् । साथै, प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा निरन्तर सहयोग गर्ने पनि उनले बताए ।

मुक्तिनाथ विकास बैंकद्वारा ५० लाख सहयोग
प्रधानमन्त्री देवीप्रकोप उद्धार कोषमा मुक्तिनाथ विकास बैंक लिमिटेडले ५० लाख आर्थिक सहयोग जम्मा गराएको छ । भोटेकोशी बाढीले प्रभावित टिमुरे, स्याफ्रुबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कोषमा ५० लाख सहयोग गरिएको बैंकको भनाइ छ । कठिन परिस्थितिमा पीडित परिवारलाई मलम लगाउनु संस्थाको सामाजिक उत्तरदायित्व भएको भन्दै यो सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

३० लाख सहयोग गर्ने क्यानको प्रतिबद्धता 
नेपाल क्रिकेट संघ (क्यान)ले पनि राहत, उद्धार तथा पुनर्स्थापनामा हातेमालो गरेको छ । क्यानका सचिव क्रिकेटर पारस खड्काले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए । साथै, कठिन समयमा एकजुट भई साथ, सहयोग र ऐक्यबद्धता जनाउने नेपाल तथा विश्वभरका सम्पूर्ण क्रिकेट समुदायप्रति पनि क्यानले आभार व्यक्त गरेको छ ।

लुम्बिनी विकास बैंकको २५ लाख 
लुम्बिनी विकास बैंक २५ लाख रुपैयाँ सहयोगसहित बाढी प्रभावितको उद्धार तथा राहत कार्यमा जोडिएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको बताएको छ । बैंकका अध्यक्ष चिन्तामणि भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र नायब प्रमुख कार्यकारी उमेश रेग्मीले शुक्रबार अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन् । प्राकृतिक विपत्का कारण विभिन्न स्थानमा जनधनको ठुलो क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएकामा बैंकले दुःख व्यक्त गरेको छ ।

एसियन लाइफले गर्‍यो एक करोडभन्दा बढी सहयोग
प्रधानमन्त्री दैवीप्रकोप कोषमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । रसुवा घटनाप्रति दुःख व्यक्त गर्दै कम्पनीले कर्मचारी र बिमितको सकुशल अवस्थाको कामनासमेत गरेको छ ।

एसबिआई बैंकले दियो राहत सामग्री
नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि राहत सामग्री वितरण गरेको छ । बैंकले प्राकृतिक विपत्बाट प्रभावित समुदायको पुनर्स्थापना, पुनरुत्थान तथा समग्र कल्याणमा सहयोग पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । मानवीय सेवा, सहानुभूति र ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै संकटका समयमा आवश्यक सहयोगलाई निरन्तरता दिने बैंकले जनाएको छ ।

पुनर्वास केन्द्र निर्माणमा दिवाकर गोल्छा अर्गनाइजेसनले सघाउने 
हुलास ब्रान्डको मातृकम्पनी दिवाकर गोल्छा अर्गनाइजेसनले रसुवा बाढीबाट प्रभावित परिवारका लागि निर्माण तथा स्थापना गर्न लागिएको अस्थायी पुनर्वास केन्द्रका लागि निर्माण सामग्री सहयोग गर्ने घोषणा गरेको छ । अर्गनाइजेसनले उक्त केन्द्र निर्माणका लागि आवश्यक जस्तापाता तथा पाइप उपलब्ध गराउनेछ । यस सहयोगले तत्कालीन राहतसँगै प्रभावित परिवारको अस्थायी बसोवास व्यवस्थापनमा योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

अन्य सहयोग
बाढी प्रभावितका लागि अन्य सहयोग पनि घोषणा गरिएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले १२ सय ५० भरी सिलिन्डर नेपाल आयल निगममार्फत प्रभावित क्षेत्रमा पुर्‍याउने जनाएको छ । यसैगरी, एक्स्ट्रिम इनर्जी डिंकले एक करोड रुपैयाँ र अर्ना बियरले ५१ लाख, बाजेको सेकुवाले पाँच लाख ५५ हजार सहयोग गरेका छन्  ।

आर्या फर्मा ल्याबले ८२ लाख ५१ हजारबराबरका औषधि उपलब्ध गराउने घोषणा गरेको छ । यता, नेपाल चेम्बर अफ कमर्सले नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ । 

साथै, जावलाखेल डिस्टिलरीले एक करोड, हिमालयन डिस्टिलरीले एक करोड, अल्फा अटोमोटिभ प्रालिले एक करोड र सोलु हाइड्रोपावरका प्रतिनिधिले एक करोड रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।

यसअघिको सहयोग 
गोर्खा ब्रुअरीले १० करोड, बिवाइडी–साइमेक्स इंकले सात करोड, ग्लोबल आइएमई बैंकले पाँच करोड रुपैयाँ सहयोग गरिसकेका छन् । त्यसैगरी, इप्पानले पाँच करोड, कुमारी बैंकले ३.३९ करोड, गोल्छा ग्रुपले डेढ करोड, एनसेलले एक करोड, कालिका कन्स्ट्रक्सनले एक करोड, आइएमई लाइफले एक करोड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५१ लाख, कामना सेवा विकास बैंकले २५ लाख, हिमालयन बुलियनले २१ लाख रकम सरकारलाई हस्तान्तरण गरिसकेका छन् ।

कोषमा तीन दिनमा सवा चार अर्ब थपियो, कुल मौज्दात साढे ६ अर्ब पुग्यो 
गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि स्वदेश तथा विदेशमा रहेका आमसर्वसाधारण, उद्योगी–व्यवसायी तथा संघ–संस्थाले आर्थिक सहायतालाई तीव्रता दिएका छन् । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पछिल्लो तीन दिनमै सबा चार अर्ब रुपैयाँ थपिएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि शुक्रबारसम्म चार अर्ब ३८ करोड आठ लाख रुपैयाँ कोषमा जम्मा भएको हो । 

अर्थ मन्त्रालयका अनुसार बाढी आउनुअघि उक्त कोषमा दुई अर्ब १७ करोड २५ लाख रुपैयाँ मौज्दात थियो । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएपछि नागरिक, उद्योगी–व्यवसायी, संघ–संस्था तथा अन्तर्राष्ट्रिय दाताले सहयोग रकम पठाउन थालेका छन् । सरकारले पनि सहयोगका लागि भन्दै आधिकारिक खाता र क्युआरकोड सार्वजनिक गरेको छ । 

यसबिचमा बिहीबारसम्म विभिन्न १० वाणिज्य बैंकहरूमा रहेका खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार नौ सय ११ रुपैयाँ सहयोग रकम जम्मा भएको थियो । शुक्रबार एकै दिन दुई अर्ब ४६ करोड २२ लाख रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ । यससँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६ अर्ब ५५ करोड ३३ लाख रुपैयाँ मौज्दात भएको छ । 

नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर धनजनको ठुलो क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो ।

See More On

सुझावित समाचार