एसिसी प्रिमियर कप आजबाट मलेसियामा सुरु हुँदै छ । नेपालसहित १० टिम सहभागी हुने प्रतियोगिताको विजेता टिम एसिया कपमा छनोट हुनेछ । सन् २०२७ मा आयोजना हुने एसिया कपमा प्रिमियर कपबाट छनोट हुने एक टिमसहित आठ टिमले प्रतिस्पर्धा गर्ने एसियन क्रिकेट काउन्सिल (एसिसी)ले जनाएको छ ।
नेपालले पहिलो खेल १५ भदौ (आइतबार) बहराइनसँग खेल्नेछ । आइतबार पहिलो दिन दुवै समूहका समान एक खेल आयोजना हुनेछन् । उद्घाटन खेलमा हङकङ र साउदी अरेबिया तथा ओमान र सिंगापुरबिच प्रतिस्पर्धा हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल दोस्रोपटक एसिया कप खेल्ने योजनामा छ । कप्तान सन्दीपले एसिया कपमा छनोट हुने प्रतिबद्धता जनाएका छन् । सन्दीपले यही खेलबाट कप्तानीमा आधिकारिक पुनरागमन गर्नेछन् । पछिल्लोपटक कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा कमजोर नतिजा आएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई जिम्मेवारीमा पुनः फर्काएको हो । प्रशिक्षक स्टुआर्ट ल पनि एसिया कपमा छनोट हुनेमा विश्वस्त छन् ।
सन् २०२३ मा रोहितको कप्तानीमा नेपालले पहिलोपटक एसिया कप खेलेको थियो । मूलपानी माथिल्लो मैदानमा युएईलाई हराउँदै नेपालले पहिलोपटक यो उपलब्धि हासिल गरेको थियो । भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका महारथीविरुद्ध नेपालले त्यतिवेला सानदार प्रदर्शन गर्दै सबैको मन जितेको थियो । यद्यपि, नेपाल पाकिस्तानसँग २३८ तथा भारतसँग १० विकेटले पराजित भयो ।
फाइनलमा श्रीलंकालाई १० विकेटले नै हराउँदै भारत सातौँपटक च्याम्पियन भएको थियो । सन् २०२५ मा भने नेपाललाई हराउँदै युएई पहिलोपटक एसिया कपका लागि छनोट भयो ।
१० टिम प्रतिस्पर्धामा
एसोसियट क्रिकेटका १० टिम एसिया कप खेल्ने प्रतिस्पर्धामा छन् । उहाँबाट छनोट हुने एक टिमले सिधै सात टेस्ट राष्ट्रसँग एसिया कप खेल्नेछ । समूह ‘ए’मा नेपालसँगै हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग छन् । समूह ‘बी’मा युएई, ओमान, कुवेत, कतार र सिंगापुर छन् ।
एसिया कप हङकङले सर्वाधिक पाँचपटक खेलेको छ । नेपालसँगै युएई र ओमानले समान एकपटक खेलेका छन् । नेपालले दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ । समूहमा शीर्ष दुईमा रहने टिम सिधै सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल २७ भदौमा हुनेछ ।
सर्वाधिक विजेता भारत र श्रीलंका नै दाबेदार
एसिया कपमा सर्वाधिक सातपटकको च्याम्पियन भारत, पाँचपटकको च्याम्पियन श्रीलंका, दुईपटकको च्याम्पियन पाकिस्तान बंगलादेश, अफगानिस्तानको टुंगो लागिसकेको छ । पाँचै टिम टेस्ट राष्ट्र भएका कारण सिधै एसिया कप खेल्न लागेका हुन् ।
अन्तिम खेलमा पनि नेपाल पराजित
नेपालले ‘ए’ले अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा पनि हार व्यहोरेको छ । शनिबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा भिक्टोरिया क्रिकेट संघसँग एक विकेटको हार व्यहोरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४३ रनको लक्ष्य दियो । प्रत्युत्तरमा भिक्टोरियाले अन्तिम बलमा नौ विकेट गुमाएर जित निकाल्यो ।
यो नतिजासँगै नेपालले ६ खेलबाट चार अंकका साथ प्रतियोगिताको अन्त्य गरेको छ । यसअघि नर्दन टेरिटोरी स्ट्राइक, बंगलादेश हाई पर्पmर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित नेपालले होबर्ट हुरिक्यास एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो । अन्तिम खेलमा भिक्टोरियाका टम रोजर्सले ३६, ह्यारी होएकस्ट्राले अविजित ३५, ह्यारी डिक्सनले ३०, साम एलियटले १६ र अस्टिन एनलेजार्कले १० रन बनाए । नेपालका बलर युवराज खत्री र कुशल भुर्तेलले समान तीन तथा आकाश चन्दले एक विकेट लिएका थिए ।
यसअघि पहिलो इनिङ्समा नेपालका कुशलले भुर्तेलले अविजित ९० रनको योगदान गरेका थिए । उनले ५५ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । यसैगरी, दीपक डुम्रेले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । भिक्टोरियाका ह्यारी होएकस्ट्रा र क्यालम स्टोले समान दुई विकेट लिएका थिए ।