सडकमा बगेको भलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–३०, ढुंगेपाटन बस्ने वर्ष २६ की सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहाल रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।
शुक्रबार दिउँसो करिब चार बजे ग१३प २८५९ नम्बरको स्कुटरमा सवार उनीहरू बिरौटाबाट पृथ्वीचोकतर्फ जानेक्रममा अविरल वर्षाका कारण सडकमा बगेको ठुलो भलका कारण स्कुटर चलाउन नसक्ने अवस्था आएपछि पोखरा–१७ स्थित हर्कमेयर चोकमा स्कुटर साइड लगाएका थिए ।
स्कुटरबाट ओर्लिएपछि छोरी रानीकालाई सडकमा बगेको भलले बगाएर नालीमा पुर्याएको थियो । छोरीलाई बचाउन गएकी सात महिनाकी गर्भवती आमा सुष्मालाई पनि भलले बगाएको थियो । भलले बगाएका उनीहरूलाई घटनास्थलबाट करिब पाँच सय मिटर तल बिरौटास्थित नहर–कुलोबाट स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए ।
उद्धारलगत्तै आमाछोरीलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारका क्रममा सुष्माको शुक्रबार र छोरी रानीकाको शनिबार मृत्यु भएको हो । सुष्माको पेटमा रहेको सात महिनाको बच्चालाई शल्यक्रिया गरी निकाल्ने प्रयास गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । अचेत अवस्थामा उद्धार गरिएका आमाछोरीको शरीरमा बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर थियो ।
परिवारका तीन सदस्य स्कुटरमा सवार थिए । सुष्माका श्रीमान् तथा रानीकाका बुबा गिरीप्रसाद दाहालले स्कुटर चलाएका थिए । श्रीमती र छोरीलाई भलले बगाएपछि उनीहरूलाई बचाउन अघि बढेका गिरीप्रसाद पनि भलमा लडेका थिए । त्यसपछि उनले अन्य व्यक्तिसँग सहयोग मागेपछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी आमाछोरीलाई अस्पताल पुर्याएका थिए ।