- राज्यको ध्यान बेपत्ता व्यक्तिको खोजीमा मात्रै देखिन्छ, तर मरेका हजारौँ पशुचौपाया सडेर गनाउन थालिसक्दा पनि व्यवस्थापन हुन सकेको छैन । यही कारण प्रभावित क्षेत्रमा कुनै सरुवारोग देखिए सयौँको संख्यामा सामूहिक रूपमा बसिरहेका मानिसमा महामारी फैलिन सक्छ ।
बाढीमा परेर मृत्यु भएका व्यक्ति र पशुचौपायाको शव कुहिएर प्रभावित क्षेत्रमा महामारीजन्य तथा सरुवारोग फैलिने जोखिम देखिएको छ । बाढीमा सयौँ मानिस बेपत्ता भएकामा निकै कम जीवित भेटिएका छन् भने अधिकांशको शव पनि भेटिएको छैन । त्यस्तै, हजारौँ पशुचौपाया बाढीमा परेकामा कुनै व्यवस्थापन भएको छैन । यसले महामारीजन्य रोग भयावह बन्न सक्ने भन्दै पूर्वतयारी र सावधानी अपनाउन चिकित्सकहरूले सचेत गराएका छन् ।
यत्रतत्र छरिएका शवका कारण हैजा, झाडापखाला, स्क्रब टाइफस, रोटाभाइरस, टाइफाइड, हेपाटाइटिस ‘ए’ र ‘ई’, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, छालाका संक्रमण, श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिन सक्नेमा सरुवारोग विशेषज्ञ चिकित्सकहरूको चिन्ता छ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले तत्काल प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता नअपनाइए सार्वजनिक स्वास्थ्य संकट निम्तिन सक्ने चेतावनी दिए । ‘मान्छे मात्रै होइन, हजारौँका संख्यामा पशुचौपाया मरेका छन् । बिस्तारै सड्ने र कुहिने अवस्था हुन थालेको छ, त्यसैले सचेत हुनुपर्छ,’ उनले भने, ‘अनावश्यक मानिसहरू पनि त्यहाँ गइरहेका देखिन्छन् । कतिपय त हेर्न गएका छन् । एउटा मानिसमा कुनै सरुवारोग लाग्यो भने देशैभर फैलिन्छ । बाढी अनुमानित थिएन, तर रोगचाहिँ अनुमानित छ । सरकार र नागरिक समाज वेलैमा सचेत हुनुपर्छ ।’
अहिले बाढी प्रभावितहरू सामूहिक रूपमा बसेका छन् । उनीहरूको खानपिन र बसाइ एकै ठाउँमा छ । टहरा वा खुला ठाउँमा बस्दा लामखुट्टे वा अन्य भुसुनाले टोक्न सक्ने र त्यहीँबाट एक–अर्कामा रोग फैलिन सक्ने चिकित्सक पुन बताउँछन् ।
‘विस्थापितहरू सामूहिक रूपमा बसेको ठाउँमा खानेपानी तथा गैरखाद्यवस्तु वितरण भएमा बिजोग अवस्था निम्तिन सक्छ । विशेषगरी पानीजन्य, हावाजन्य र झाडापखालाजन्य रोग फैलिने डर हुन्छ । अझ बढी जोखिम त स्क्रब टाइफसको हुन्छ,’ उनले भने, ‘यस्तो समयमा कीटजन्य रोगको पनि अति जोखिम हुने भएकाले सरकारी पक्षले उनीहरूको स्वस्थ खानपान र सुरक्षित बसाइमा विशेष ध्यान दिनुपर्छ ।’ खानेपानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र सेवन गर्नुपर्ने, साबुनपानीले नियमित हात धुनुपर्ने, अस्थायी शिविरमा शौचालय र फोहोर व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने तथा ज्वरो, पखाला, बान्ता वा छालामा संक्रमण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने सुझाव डा. पुनको छ ।
बाढीले रसुवा र नुवाकोटका हजारौँ घर तथा संरचना तहसनहस बनाएको छ । ती घरमा बसोबास गर्ने मानिस हराएका छन् । उनीहरूले पालेका पशुचौपाया मरेका छन् । त्यहाँबाट बगाएका मान्छेका शव धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी पूर्वसम्म फेला परेका छन् । मान्छेको शव व्यवस्थापन गर्नै जटिल भइरहेको सरकारले मरेका पशुचौपाया व्यवस्थापनतर्फ त सोचेकै छैन । मरेका पशुचौपाया गनाउने र जीवाणु फैलिने क्रम बढ्दो छ ।
मुख्य प्रभावित क्षेत्रमा रसुवा र त्रिशूली अस्पतालबाहेक अन्य स्थानीय स्वास्थ्यचौकी नामेट भएका छन् । सेना, नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । तर, उपचारका लागि ती शिविर मात्रै पर्याप्त छैनन् । पूर्वस्वास्थ्यमन्त्री डा. सुधा शर्माले यो समयमा सरुवारोग फैलने डर बढी भएकाले सावधानी अपनाउनुपर्ने बताइन् ।
‘अहिले शवहरू छरिएका छन्, कतिपय त टुक्राटुक्रा अवस्थामा पनि छरिएका होलान्, पशुचौपाया झन् ठुलो संख्यामा मरेका छन्, यसबाट घातक रोग फैलिने जोखिम हुन्छ,’ उनले भनिन्, ‘विस्थापित बस्तीका मानिसहरूलाई सामूहिक रूपमा राखिएको छ । यस अवस्थामा सरसफाइमा थोरै मात्रै ख्याल पुगेन भने झाडापखाला, निमोनियाजस्ता रोग फैलिन सक्छन् । गर्भवती, बालबालिका, नवजात शिशुमा बढी समस्या देखिन सक्छ । त्यसैले उनीहरूका लागि विशेष ध्यान दिनुपर्छ । शव र मरेका पशुचौपाया यथाशीघ्र व्यवस्थापन गर्नुपर्छ ।’ पूर्वमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा औषधिहरू छर्कनुपर्ने, बसोबास स्थलमा विशेष ध्यान दिनुपर्ने, खानपानमा ध्यान दिनुपर्ने, सफा पानी वितरण गर्नुपर्ने, शव व्यवस्थापनमा सावधान हुनुपर्ने, मरेका पशुचौपायालाई खोजी–खोजी व्यवस्थापन गर्नुपर्नेजस्ता कार्य गरियो भने महामारीजन्य रोगबाट बच्न सकिने सुझाव दिइन् ।
बाढीले रसुवाको टिमुरे, उत्तरगया, किस्पाङ, त्रिशुली र बेत्रावती क्षेत्रमा अत्याधिक क्षति पारेको छ । उत्तरगया गाउँपालिका– २ का वडाध्यक्ष तथा पालिका प्रवक्ता टुकुप्रसाद सुवेदीले उत्तरगयाको १, २, ४ र ५ नम्बर वडामा बढी क्षति पुर्याएको बताउँदै त्यस क्षेत्रमा ठूलो संख्यामा मानिस र पशुचौपाया पनि नोक्सान भएको बताए । ‘यहाँका सयौं मानिसहरू बेपत्ता छन्, खोलाको आसपासमा निकै ठूलो वस्ती र बजार थियो, सबै सिध्दियो,’ उनले भने, ‘यहाँ व्यावसायिक रूपमा पशुचौपाया पालिएको थियो, सबै नदीमा बग्यो । मरेका पशुचौपाया अहिले गन्हाउन थालेको छ, यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ, नत्र रोग फैलने डर हुन्छ ।’ उनका अनुसार यस क्षेत्रमा हाल नुन र औषधी समेत सकिएको छ । त्यसको लागि नेपाली सेनासँग माग गरिएको छ ।
प्रहरी प्रशासनले रसुवा र नुवाकोटका नदी किनार तथा बगर क्षेत्रमा ठुलो संख्यामा शव पुरिएको हुनसक्ने अनुमान पनि गरेको छ । तीव्र बहावले बगाएका शवमध्ये कतिपय नदीको किनारमा पुरिएका छन् । सयौं संख्यामा गाई, भैँसी, बाख्रालगायत पशुचौपाया मृत अवस्थामा बगरमै छरिएका पनि देखिन्छन् । मरेका पशुचौपायाले वातावरण प्रदूषित बनाउनुका साथै पानीका स्रोत दूषित पार्न सक्ने भएकाले स्थानीय बासिन्दालाई यस्ता स्थानमा अनावश्यक आवतजावत नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी त्रिशुली, बेत्रावती, विदुर क्षेत्रमा मरेका पशुचौपायाको संख्या अत्यधिक रहेको बताउँछन् । यस क्षेत्रमा कतिपय शव पुरिएको अनुमान गरिएको छ । संक्रमणजन्य रोग फैलिनसक्ने भन्दै शनिबारदेखि त्यस क्षेत्रमा औषधी छर्किने र भेटिएको पशु चौपाया व्यवस्थित तरिकारले गाड्ने काम भइरहेको उनको भनाई छ । ‘मुख्य काम त ज्यान जोगाउने हो, शनिबारदेखि हामीले महामामारीजन्य रोग फैलिएला भनेर स्वास्थ्य मन्त्रालयको समन्वयमा काम थालिसकेको छौं । जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ–त्यहाँ औषधी छर्किने र मरेका पशु चौपाया खोजेर व्यवस्थित गर्ने काम पनि भइरहेको छ,’ उनले भने, ‘तर अहिले सबै ठाउँमा पुगेर काम गर्न सक्ने अवस्था छैन ।’
स्वास्थ्य मन्त्रालयले पनि बाढीग्रस्त क्षेत्रमा विना काम भिडभाडका लागि नजान र स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेको छ । ‘ठूलो संख्यामा शवहरू भेटिएका छैनन्, पशुचौपाय पनि उत्तिकै मरेका छन्, यो समयमा संक्रमणजन्य रोग फैलिने अति डर हुन्छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने, ‘हामीले जहाँ–जहाँ खानेकुरा र राहत वितरण भएको छ, त्यहाँ अतिसावधानी अपनाउन भनेका छौं, उद्धारकर्मीहरूले पनि यस्तो अवस्थामा महामारीजन्य रोगबारे विशेष ध्यान दिनुपर्छ । स्थानीयले शव वा मरेको पशु चौपाया देखेमा प्रहरीलाई खबर गर्नुपर्छ । महामारीजन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउँछ । अब त्यसमा केन्द्रित भएर काम सुरु गर्छौं । महामारीजन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउँछ । अब त्यसमा केन्द्रित भएर काम सुरु गर्छौं ।’
शवबाट सिधै मात्रै होइन, त्यसबाट निस्किने दुर्गन्ध हावाबाट फैलिएर पनि रोग निम्त्याउन सक्छ । त्यस्ता शवले पानी र माटो पनि दूषित बनाउँछ । महामारीजन्य रोग फैलिन नदिन सबैभन्दा पहिले शव र पशुचौपायाको सुरक्षित व्यवस्थापन गर्नुपर्ने सहप्रवक्ता डा. अधिकारी बताउँछन् ।
मधुमेह र उच्च रक्तचापका बिरामी बढ्ने डर
बाढी पहिरोबाट प्रभावित भएकाहरूमा मधुमेह र उच्च रक्तचापको पनि जोखिम देखिएको छ । सरुवारोग विशेषज्ञ डा. पुनका अनुसार बाढीका कारण प्रभावित परिवार र सदस्यहरूमा खानपान र निद्रा बिग्रिएको छ । अनावश्यक तनाव थपिएको छ । जसकारण उनीहरूमा उच्च रक्तचाप र मधुमेह बढ्ने डर हुन्छ । ‘बाढी प्रभावितहरूमा मधुमेह र उच्च रक्तचापको समस्या देखिन सक्छ, त्यसकारण यसतर्फ पनि उत्तिकै ध्यान दिनु आवश्यक छ,’ उनले भने ।