आफन्त बेपत्ता भएका परिवारको छटपटी : न आँसु थामिए, न आशा मरेको छ

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण
आफन्त बेपत्ता भएका परिवारको छटपटी : न आँसु थामिए, न आशा मरेको छ

त्रिवि शिक्षण अस्पतालमा आफन्तको खोजीमा पुगेकाहरू

रसुवा–नुवाकोटमा आएको विनाशकारी बाढीले आफन्त, परिवार र गाउँ नै खोसेपछि शिक्षण अस्पतालपरिसरमा मानिसहरू आफ्ना मान्छेको खोजीमा भौँतारिइरहेका छन् । कसैको हातमा हराएका श्रीमान्को तस्बिर छ । कसैको छातीमा बेपत्ता छोरी–ज्वाइँ फर्किने आशासहितका तस्बिर ।

शुक्रबार नयाँ पत्रिकाका प्रतिनिधि शिक्षण अस्पतालपरिसर पुग्दा देखिएको दृश्य हृदयविदारक थियो, जहाँ हराएका आफन्तको खोजीमा आएका मानिसका न आँसु थामिएका थिए, न आशा नै मरेको थियो । सयौँ परिवारले आफ्ना आफन्त जीवित छन् कि छैनन् भन्ने उत्तर पाउन सकेका छैनन् ।

कोही आफन्त भेटिने आशामा घाइतेका अनुहार अस्पतालको भित्तामा टाँसिएका पोस्टरमा नियालिरहेका छन्, कोही अस्पतालमा ल्याइएका व्यक्तिको विवरण खोजिरहेका छन् । यीमध्येका थिए– फुर्वा तामाङ र पेमलामा तामाङ । खिन्न मन गरेर उनीहरू शुक्रबार साँझ शिक्षण अस्पतालपरिसरमा यताउति गरिरहेका भेटिए । उनीहरूको हातमा तेन्जिङ तामाङको तस्बिरसहितको पोस्टर थियो ।

घटना उही १० गतेको भोटेकोशीको विनाशकारी बाढी हो । त्यसै दिनदेखि २१६ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा काम गर्ने तेन्जिङ तामाङको अत्तोपत्तो छैन । उनै तेन्जिङको हाल बुझ्न उनका दाइ फुर्वा र भान्जी पेमलामा कीर्तिपुरदेखि अस्पताल आएका थिए । भान्जी पेमलामाका अनुसार तेन्जिङले बाढी आएकै दिन आयोजनामा जोडिएर काम गर्न सुरु गरेका थिए । ‘मामा काम सुरु गरेकै दिन त्यस्तो घटना भएर सम्पर्कविहीन हुनुभयो,’ उनले भनिन् । आयोजनाको हराएकाको सूचीमा पनि तेन्जिङको नाम छैन ।

दाइ फुर्वाका अनुसार ४३ वर्षका तेन्जिङ आयोजनाको टनेलभित्र लेबर काम गर्न गएका थिए । घटनाको अघिल्लो दिन घरमा रहेकी पत्नीलाई आफू आयोजनाका काम गर्न आइपुगेको जानकारी गराएका थिए । बाढीपछि कुनै पनि सम्पर्क हुन सकेको छैन । ‘घाइतेहरू ल्याइँदै छ भन्ने सुनेर भाइलाई भेटिन्छ कि भनेर यहाँ आएको,’ उनले भने, ‘भाइ भेटिन्छ कि भन्ने आस गरेका छौँ ।’

शान्तिसुरक्षा र नागरिकलाई पहरा दिन खटिएका कतिपय राष्ट्रसेवक सुरक्षाकर्मी नै बाढीपछि बेपत्ता छन् । प्रहरीकै बेपत्ता अवस्थाबारे प्रहरी युनिटमा नाम टिपाउन लामबद्ध भएकी थिइन्, शारदा प्रजा । चितवनको कुरिनटार स्थायी ठेगाना भएका उनका ज्वाइँ प्रहरी जवान हुन् । तीन वर्षदेखि रसुवाको मैलुङमा कार्यरत ज्वाइँ र छोरी सँगै बस्थे ।

प्रजाका अनुसार ज्वाइँ कार्यरत रहेको ठाउँनजिकै डेरा पनि थियो । डेरामा ज्वाइँछोरी सँगै थिए । भोटेकोशीको बाढीपछि शारदा आफ्ना छोरीज्वाइँको अवस्था अज्ञात भएसँगै आत्तिँदै शिक्षण अस्पताल आएकी थिइन् । ‘मंगलबार राति ११ बजे छोरीसँग कुरा भएको थियो । ज्वाइँ पनि राति १२ बजे ड्युटी सकेर आउनुभएको थाहा पाएकी थिएँ,’ उनले भक्कानिँदै भनिन्, ‘त्यसपछि कुनै पनि जानकारी भएन । प्रहरीमा पनि रिपोर्ट गरेकी छु । केही थाहा लागेको छैन ।’ उनले आफ्ना ज्वाइँछोरीको फोटोसहितको पोस्टर अस्पतालको भित्तामा टाँसेकी छिन् ।

रसुवाको स्याफ्रुबेँसी बजारनजिकै लाङटाङ हाइड्रोपावरमा काम गर्ने २४ वर्षीय केशव विष्ट पनि १० गतेदेखि बेपत्ता छन् । केशव बेखबर भएपछि उनलाई खोज्दै ठुलोबुबाका छोरा विनोद विष्ट शिक्षण अस्पतालमा यताउता गरिरहेका थिए । विनोदका अनुसार केशव आठ महिनादेखि उक्त हाइड्रोपावरमा कार्यरत थिए ।

केशवको घर बैतडी हो । उनी विकट ठाउँका हुन् र पारिवारिक आर्थिक अवस्था पनि कमजोर छ । ‘घरायसी स्थिति कमजोर छ, घरपरिवार सम्हाल्न पनि धेरै गाह्रो छ,’ विनोद भन्छन्, ‘ऊ परिवारको जेठो छोरा हो ।’

फोन ट्रयाक गर्दा केशवको मोबाइलमा १० गते बिहान ९ः०३ बजेसम्म टावरले कनेक्सन देखाएको थियो । त्यसयता कुनै सम्पर्क र संकेत नदेखिएको विनोदले बताए । त्यसअघि ९ गते केशवले घरमा अन्तिमपटक आमासँग कुराकानी गरेका थिए ।

केशवसमेत लाङटाङ हाइड्रोपावरमा १३ जनाको टोली हराएको छ । ‘ठेकेदार कम्पनीसँग कुरा गर्दा हाइड्रोको पावरहाउसमा काम गर्ने भाइसमेत १३ जनाको टोली क्याम्पआसपासमा थिए । सबै हराएका जानकारी पाएका छौँ,’ विनोदले भने । टनेलमा कार्यरत ती १३ सहित कुल २४ जना मानिस आयोजनामा बेपत्ता छन् । ‘उद्धार भइरहेको भन्ने सुनेका छौँ,’ विनोदले भने, ‘हामीले खोजीको अधिकतम प्रयास गरिरहेका छौँ । सबैले प्रयास गरिदिनुहोला ।’

हराएकाहरूकै सूचीमा नाम दर्ता गर्दै गर्दा भेटिइन् जानुका खत्री पनि । खत्री आफ्नो छोरा गोविन्द थापामगर सम्पर्कविहीन भएको भन्दै खोजीका क्रममा शिक्षण अस्पताल पुगेकी हुन् । जानुकाका अनुसार उनका छोरा गोविन्द पर्यटकहरूको समूहसँगै कैलाश मानसरोवर जाँदै थिए ।

त्यस समूहमा १३ जना नेपाली र ५८ जना युक्रेनियन नागरिक थिए । ‘चीनको बोर्डर पार गर्दैगर्दाको क्षणमा १० गते बिहान ८ः४० सम्म सम्पर्कमै थियो । त्यसपछि सबै सम्पर्क टुट्यो,’ उनले भनिन्, ‘रसुवाबाट चारवटा शव आएको छ, फेरि आउँदै छ भन्ने सुनेर बुझ्नका लागि आएको ।’

बसमा केरुङ जाने पर्यटक बोकेर आएका दोलखाको कालिञ्चोक गाउँपालिका– ७ का भूपेन्द्र खड्का पनि १० गतेदेखि नै बेपत्ता छन् । उनैका दाइ सीताराम खड्का उसैगरी शिक्षण अस्पतालमा भौँतारिरहेका भेटिए । ‘८ गते केरुङ नाकामा पर्यटक छाडेर टिमुरे आएर बसेको थियो । ९ गते पनि टिमुरे नै बस्यो । १० गते बिहान ७ः४७ सम्म हामीसँग सम्पर्कमै थियो । अन्तिमपटक कुरा हुँदा पहिरो गएको छ, फर्किन सक्ने अवस्था छैन । बाटो खुलेपछि पर्यटक लिएरै फर्किने उसको योजना थियो,’ उनले भने, ‘त्यसपछि दैवी प्रकोप आएपछि सम्पर्क गर्न खोज्दा अहिलेसम्म सम्भव हुन सकिरहेको छैन ।’

अरनिको सुपर गाडीमा भारतीय पर्यटक बोकेर गएका चालक भूपेन्द्रसहित सहचालक पनि बेपत्ता नै छन् । ‘शिक्षण अस्पताल, वीर अस्पताल र त्रिभुवन विमानस्थलमा पनि नाम टिपाएका छौँ । अहिलेसम्म कुनै अत्तोपत्तो छैन,’ उनले भने ।

शिक्षण अस्पतालपरिसरमा नेपाल प्रहरीको एउटा टोली छुट्टै डेस्क राखेर बेपत्ताको खोजीमा जुटेको छ । प्रहरी वृत्त महाराजगन्जले १० गतेदेखि नै डेस्क स्थापना गरी भोटेकोशी बाढीमा आफन्त गुमाएका तथा सम्पर्कविहीन भएका व्यक्तिका परिवारजनबाट विवरण संकलन गरिरहेको छ ।

बिहीबारसम्म मात्रै डेस्कमा एक हजार १९२ जना बेपत्ता भएको भन्दै आफन्तजनले नाम टिपाएका छन् । शुक्रबार साँझ ६ बजेसम्म उक्त सूचीमा थप करिब चार सयजनाको नाम चढिसकेको छ । डेस्कमा बेपत्ताको विवरण टिपाउन आउने आफन्तको संख्या बढिरहेको प्रहरीले जनाएको छ ।

गाउँ नै शोकमा, आयोजनामा काम गर्न बर्दियाबाट गएका सातजना बेपत्ता
अहिले रसुवाको नौकुण्ड गाउँ नै शोकमा छ । यही शोकमा डुबेर शिक्षण अस्पताल आएका भेटिए, जितबहादुर घले । हराएका आफ्ना काकाकाकी र गाउँलेको अवस्था बुझ्न उनी अस्पताल आएका थिए ।

‘काकाकाकी घट्टेखोलामा होटेल गरेर बस्नुहुन्थ्यो । बाढी आएपछि बेपत्ता हुनुभो,’ उनले भने, ‘काकाकाकी मात्र होइन नौकुण्डआसपासका १५० भन्दा बढी हाम्रा दाजुभाइ–दिदीबहिनी बेपत्ता भएका छन् ।’ घले काकाकाकी र गाउँलेहरूको शीघ्र उद्धारको आशामा छन् ।

बाढीपछि दौडेर घट्टेखोलाभन्दा माथि दुधकुण्डको जंगलतिर पुगेका १६–१७ जना सकुशल रहेको सुनेको घलेले बताए । दुधकुण्ड रसुवागढीबाट २०–२५ मिनेटको दूरीमा पुग्ने ठाउँ हो । ‘सरकारले छिटोभन्दा छिटो उद्धार गर्नुपर्यो । आज तीन दिन भइसक्यो । बत्ती छैन, मोबाइल छैन । खान पाएका छैनन् । सायद एकदम बिजोग छ,’ उनले भने ।

आफन्ती र गाउँलेको खोजीमा आफूहरूले अधिकतम प्रयास गरिरहेको घले बताउँछन् । यसका लागि स्थानीय सरकार, प्रशासन र काठमाडौंबाट पनि कोसिस गरिरहे पनि जानकारी पाउन नसकेको उनले बताए । ‘हामी दुःखी र भावविह्वल छौँ । आफन्त गुमाएका भाइबहिनी र छोराछोरी रोइरहेका छन् । मेरो बाबा खोइ, आमा खोइ भनिराखेका छन्,’ उनले पीडा पोखे, ‘यस्तो अवस्थामा कि लास चाहियो कि मान्छे ।’

यस्तै दर्दनाक अवस्था सुनाउन हामीसँग आए निमेष न्यौपाने । उनका गाउँका सातजनाको अवस्था अज्ञात छ । बर्दियाको गेरुवा गाउँपालिका– २ बाट काम गर्न भनेर रसुवा पुगेका राजकुमार थारू, नरेन्द्र थारू, पञ्चराम थारू, निदेशकुमार थारू, विकास थारू, सन्तोष न्यौपाने र पदम चौधरीको अवस्था १० भदौको बाढीदेखि नै अज्ञात छ ।

निमेषका अनुसार ठेकेदार कम्पनी घताल ग्रुप कन्स्ट्रक्सनबाट काम गर्न सातैजना रसुवा पुगेका थिए । त्यहाँ उनीहरू भवनको काम गर्थे । नजिकै फरक साइटमा काम गर्ने गाउँकै अरू चारजना भने सम्पर्कमा आए पनि सातजनाका सम्बन्धमा कुनै जानकारी नै छैन ।

उनीहरू सबैले करिब सात महिनादेखि रसुवामा काम गरिरहेका थिए । २५ देखि ३५ वर्ष उमेर समूहका उनीहरूबारे कुनै खबर नहुँदा गाउँमा रहेका परिवार र आफन्तजन आत्तिएका निमेषले बताए । ‘उहाँहरूबारे केही जानकारी भएन । म यतै काठमाडौं बस्ने भएकाले यहाँ बुझ्न आएको,’ उनले भने । 
 

See More On

सुझावित समाचार