भोटेकोशी बाढीपछि धनकुटाका दुईजना बेपत्ता

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते अचानक आएको भीषण बाढीपछि धनकुटाका दुईजना बेपत्ता भएका छन्।काठमाडौंबाट भदौ ९ गते पर्यटकलाई लिएर रसुवातर्फ गएका धनकुटा नगरपालिका– ४ का विपन घिसिङ र अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत धनकुटा नगरपालिका– ७ की ३४ वर्षीय रोबी राई बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ।

जिल्ला प्रशासनले सूचना जारी गर्दै धनकुटा जिल्लाबाट बाढी प्रभावित जिल्लाहरूमा व्यापार, रोजगार, भ्रमण वा अन्य कामको सिलसिलामा गई हाल आफन्तको सम्पर्कमा नरहेका व्यक्तिहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेको थियो। 
जिल्ला प्रशासन कार्यालय धनकुटाले भदौ ११ गते सार्वजनिक सूचना जारी गरेपछि धनकुटाका दुईजना बेपत्ता भएको खबर आएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । उक्त सूचना माथिल्लो निकायमा जानकारी गराइएकोसमेत उनले बताइन्।

बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँलगायतका प्रभावित जिल्लामा सम्पर्कविहीन वा जोखिममा रहेका धनकुटाका नागरिक तथा प्रहरी कर्मचारीको विवरण उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय धनकुटाले आग्रह गरेको छ । 

प्रहरीले प्रभावित क्षेत्रमा रहेका वा सम्पर्कविहीन व्यक्तिहरूको नाम, ठेगाना, सम्पर्क नम्बर तथा परिवार वा आफन्तको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । यता सरकारले बाढीपीडितको सहयोगार्थ सुरु गरेको राहत कोषमा धनकुटाबाट कर्मचारी मिलन केन्द्रबाट ५१ हजार रुपैयाँ जम्मा भएको छ । पछिल्लो विषम् परिस्थितिका कारण कर्मचारीलाई लामो बिदा नबस्न निर्देशन दिइएको छ भने सुरक्षाकर्मीलाई एलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।
 

सुझावित समाचार