जीवन बिमाको पोलिसीलाई मुद्दती निक्षेपसरह ब्याज दिने उपकरणका रूपमा प्रचारप्रसार गरी बिक्री गर्न नपाइने भएको छ । नेपाल बिमा प्राधिकरणले मंगलबार जीवन तथा लघु जीवन बिमा कम्पनीका नाममा परिपत्र जारी गर्दै जीवन बिमालाई कुनै निक्षेप तथा लगानी योजनाका रूपमा प्रस्तुत नगर्न भनेको हो । बिमा योजनालाई फिक्स डिपोजिट प्लान, ब्याज दिने योजना, डबल मनी, निश्चित लगानी प्रतिफलका रूपमा प्रस्तुत गर्न नपाइने परिपत्रमा उल्लेख छ ।
सैद्धान्तिक रूपमा मुख्यतः बिमाले जोखिम हस्तान्तरण गर्ने हो । त्यससँगै जीवन बिमामा लगानी फिर्ता हुने सुविधा पनि हुन्छन् । तर, त्यो बिमा कम्पनीले बिमितबाट संकलन गरेको बिमाशुल्क लगानी गरेर गर्ने आम्दानीमा निर्भर हुन्छ । त्यसमा पनि बिमांकीले गर्ने कम्पनीको सम्पत्ति, दायित्व र बचत मूल्यांकनपछि मात्रै बिमितलाई दिने बोनस अर्थात् प्रतिफल निर्धारण गरिन्छ, जुन वर्षैपिच्छे फरक–फरक हुन्छ । त्यो दर हरेक वर्ष प्राधिकरणबाट स्वीकृति गर्नुपर्छ ।
तर, बजारमा बिमा कम्पनीहरूले पहिले नै निश्चित प्रतिफल दिने, ब्याज दिने, दोब्बर भुक्तानी दिने भन्दै प्रचारप्रसार गरेर पोलिसी बिक्री गर्दै आएका छन् । तर, कम्पनीले त्योअनुसार प्रतिफल दिन नसकेको गुनासो पनि प्राधिकरणमा आइरहेको छ । त्यसले बिमित पनि मर्कामा परेको गुनासो प्राधिकरणमा आइरहेको छ । पोलिसी बिक्रीमा गलत अभ्यास भएपछि त्यसलाई नियन्त्रण गर्न खोजिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणकी प्रवक्ता पूजन ढुंगेलले बिमाको गलत प्रचारप्रसारलाई नियन्त्रण गर्न खोजेको बताइन् ।
सर्वसाधारणमाझ जीवन बिमालाई जोखिम हस्तान्तरण तथा वित्तीय सुरक्षाको उपकरणका रूपमा बुझाउनुपर्ने प्राधिकरणको परिपत्रमा उल्लेख छ । लगानी प्रतिफलका रूपमा प्रस्तुत गर्न नहुने प्राधिकरणको भनाइ छ ।
बिमालाई निक्षेप तथा लगानी योजनाका रूपमा प्रस्तुत गरी बिक्री गर्न नपाउने परिपत्र उल्लेख छ । ‘बिमा योजनालाई फिक्स डिपोजिट योजना, ब्याज दिने योजना, डबल मनी योजना, निश्चित लगानी प्रतिफल वा अन्य कुनै निक्षेप लगानी योजनाका रूपमा प्रस्तुत गरी बिक्री गर्न नपाउने,’ परिपत्रमा भनिएको छ । प्रचारप्रसारमा बिमालेखका सर्त तथा प्राधिकरणबाट स्वीकृत लाभभन्दा बाहिर जान नहुने परिपत्रमा उल्लेख छ ।
‘बिमालेखका सर्त तथा प्राधिकरणबाट स्वीकृत लाभभन्दा बाहिर गई निश्चित बोनस, प्रतिफल, रकम वा लाभ प्राप्त हुने भनी आश्वासन दिन पाइनेछैन,’ परिपत्रमा भनिएको छ, ‘बिमा कम्पनीले स्वीकृत गरेको प्रचार सामग्रीबाहेक अभिकर्ताले आफूखुसी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट बिमा योजनाको प्रचारप्रसार गर्न पाइनेछैन ।’ बिमा प्रस्ताव पेस गर्दा बिमा योजनालाई निक्षेप वा फिक्स डिपोजिट होइन भनेर ग्राहकलाई स्पष्ट बनाउनुपर्ने पनि प्राधिकरणको भनाइ छ ।