गर्मी बढेसँगै उदयपुरको सदरमुकाम गाईघाटनजिकै रहेको त्रियुगा नगरपालिका– १६ मा पर्ने बेलदोभान झरनामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। प्राकृतिक सौन्दर्य र शीतल वातावरणका कारण पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको बेलदोभान पुग्ने पर्यटकले भने सडककै कारण सास्ती खेप्नुपरेको छ।
गाईघाटबाट नजिकै रहेकाले गर्मी छल्न स्थानीय युवायुवती तथा आसपासका क्षेत्रबाट सर्वसाधारण दैनिकजसो बेलदोभान पुग्ने गरेका छन्। बेलदोभान–रौता सडकखण्डअन्तर्गत बरुवा खोलाको आसपासमा रहेको झरनामा छिमेकी जिल्लाबाट उदयपुर घुम्न आउने पर्यटकसमेत पुग्न थालेका छन्। तर, झरनासम्म पुग्ने कच्ची र साँघुरो सडक जीर्ण हुँदा पर्यटकलाई आवतजावतमा समस्या हुने गरेको छ। सडकको स्तरोन्नति, पार्किङ व्यवस्थापन तथा झरना क्षेत्रको पूर्वाधार विकास हुन सके पर्यटकको संख्या अझ बढ्ने स्थानीयको भनाइ छ।
शनिबार बेलदोभान झरनामा भेटिएका त्रियुगा नगरपालिका– ११, गाईघाटका यादव राउले सदरमुकामबाट नजिकै भए पनि सडकका कारण झरना पुग्न कठिनाइ रहेको बताए। ‘गाईघाट बजारबाट गर्मी छल्न नजिकको गन्तव्यमा रहेको बेलदोभान झरना आउन सडकको समस्या छ,’ उनले भने, ‘पार्किङको व्यवस्थापन र झरनाको सौन्दर्य सुधार गर्न आवश्यक देखिन्छ। तर, झरनाको सौन्दर्य निकै राम्रो लाग्यो। सडकको मात्रै समस्या देखेँ। नगरपालिकाले मात्रै पहल गरे पनि हुने रहेछ।’
गाईघाट घुम्न आएका वेला बेलदोभान पुगेकी कटारीकी रीता खनालले पनि सडकको अवस्था जीर्ण रहेको बताइन्। ‘आन्तरिक पर्यटकका लागि बेलदोभान झरना धेरै उपयुक्त छ,’ उनले भनिन्, ‘तर, सडक मर्मत गर्नुपर्ने देखिन्छ। कच्ची र साँघुरो सडकले गर्दा समस्या छ।’
त्रियुगा नगरपालिका– १६ का वडाध्यक्ष मानबहादुर राईका अनुसार बेलदोभानसहित वडाभित्रका विभिन्न पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। उनका अनुसार सडक तथा पर्यटकीय पूर्वाधार विकासका लागि ७६ लाख रुपैयाँको डिपिआर तयार गरिएको छ। डिपिआरमा त्रियुगा नगरपालिका– १६ का विभिन्न प्राकृतिक, धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यलाई रौतामाई पोखरीसँग जोडेर पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना समेटिएको छ।
‘हाम्रो वडा नम्बर १६ प्राकृतिक, धार्मिक र ऐतिहासिक पर्यटकीय गन्तव्यका हिसाबले धेरै सम्भावना भएको क्षेत्र हो,’ राईले भने, ‘त्यसलाई केन्द्र बनाएर डिपिआर तयार गरेका छौँ। डिपिआरअनुसार स्थानीय, प्रदेश र संघीय सरकारसँग सहयोग मागिरहेका छौँ।’
राईले बेलदोभानमा निर्माण भएका केही संरचना आफ्नो अघिल्लो कार्यकालमै निर्माण गरेको बताए। त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले बेलदोभान उदयपुरको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको भन्दै पर्यटकलाई सहज यात्राका लागि सडक निर्माणको डिपिआर तयार भइसकेको बताए। ‘बेलदोभान उदयपुरको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ,’ उनले भने, ‘गाईघाटबाट सहज यात्राका लागि सडक निर्माणको डिपिआर तयार भएको छ र त्यसका लागि काम अघि बढेको छ।’
प्राकृतिक सौन्दर्य, शीतल वातावरण र गाईघाटबाट १० किलोमिटर नजिकको दूरी बेलदोभानका प्रमुख आकर्षण हुन्। तर, पर्यटकको बढ्दो चापअनुसार सडक, पार्किङ, सरसफाइ तथा अन्य आवश्यक पूर्वाधार विकास हुन नसके यसको पर्यटन सम्भावना प्रभावित हुन सक्ने स्थानीयको भनाइ छ।
स्थानीय तहले तयार गरेको डिपिआर कार्यान्वयन गर्दै सडकको स्तरोन्नति र झरना क्षेत्रको व्यवस्थित विकास गर्न सके बेलदोभानलाई गर्मी छल्ने गन्तव्यमा मात्र सीमित नराखी उदयपुरकै महत्त्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने देखिन्छ।