सल्यानकाे बागचौर नगरपालिका– ११ मा बाखुखोला खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । बागचौर नगरपालिका– ११, कामीपोल्ने स्थित पानीचौरमा कामको सिलसिलमा गई फर्किने क्रममा सोमबार साँझ ७ बजेतिर बाखुखोला खोला तर्नेक्रममा दुईजनालाई बगाएको हो ।
खोलाले बगाउँदा रोल्पाकाे गंगादेव गाउँपालिका– ४ का ७२ वर्षीय देरूप डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनको शव बगाएको ठाउँदेखि झन्डै पाँच सय मिटर तल फेलापरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।
यस्तै, बागचौर नगरपालिका– ११, कुकुरगारेका ४७ वर्षीय भीमबहादुर वली गम्भीर घाइते भएको उनकाे भनाइ छ। वलीलाई ५० मिटर तल अचेत अवस्थामा फेला पारी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।