दिनमै चार बालिका बलात्कृत : अधिकांश पीडक आफन्त वा चिनजानकै

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

बारा सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनाले देश स्तब्ध छ । अवोध बालिकामाथि भएको यो अपराधले धेरैलाई आक्रोशित र आन्दोलित बनाएको छ । गरिमा एक प्रतिनिधि हुन्, दिनमै उनीजस्ता चार बालिका बलात्कृत हुने गरेको तथ्यांकले देखाउँछ । त्यसमा एक पीडित १० वर्षमुनिकी हुन्छिन् । अझ डरलाग्दो त अधिकांश पीडक आफन्त वा चिनजानकै हुन्छन् ।

०८२/८३ मा देशभर दुई हजार ३९५ बलात्कारका घटना प्रहरीमा दर्ता भएकामा एक हजार ५१० पीडित १८ वर्षभन्दा कम उमेरका बालिका छन् । त्यसमा पनि २२१ पीडित १० वर्षमुनिका छन् । त्यस्तै, ११ देखि १४ वर्ष उमेरका ५२२ र १५ देखि १६ वर्षका ४४६ जना छन् । १७ र १८ वर्षका पीडित ३२१ जना छन् ।

प्रहरी प्रवक्ता अविनारायण काफ्ले बालिकाहरू अपराधीको ‘सफ्ट टार्गेट’मा पर्दै आएको बताउँछन् । ‘बालिकाहरूलाई सजिलै फकाउन सकिने भएकाले अपराधीहरूले टार्गेटमा पारेको देखिन्छ,’ उनी भन्छन्, ‘यसविरुद्ध प्रहरीले पनि पछिल्ला वर्ष जनचेतना अभिवृद्धिदेखि सूक्ष्म अनुसन्धान गरेर यस्ता अपराध नियन्त्रणमा सक्रियता बढाएको छ ।’ यसतर्फ अभिभावक र विद्यालय पनि उत्तिकै सजग रहनुपर्ने उनी बताउँछन् । साना बालबालिकालाई चकलेट तथा खानेकुरा दिएर फकाई एकान्तमा लगेर बलात्कार हुने गरेका घटना धेरै रहेको प्रहरीको तथ्यांकमा छ । यसमा अभिभावक विशेष सचेत हुनुपर्ने उनको भनाइ छ ।

पाँच वर्षमा ७ हजार ६१४ बालिका बलात्कारको सिकार 
पछिल्ला पाँच वर्षको अपराध तथ्यांक केलाउँदा ७ हजार ६१४ बालिका बलात्कार घटनाबाट पीडित भएका छन् । यो कुल घटनाको ६३.७२ प्रतिशत हो । बलात्कारपछि कतिपयको हत्या भएको छ ।

बालबालिकामाथि हुने बलात्कार तथा हिंसाको घटना न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान चलाउँदा पनि सफल हुन सकेको छैन । पछिल्लो पाँच वर्षमा बालिकामाथि हुने हिंसाका घटनाको ग्राफ घटेको छैन । बालबालिकालाई अभिभावक तथा विद्यालयले ‘गुड टच’ र ‘ब्याड टच’बारे सानै उमेरदेखि बुझाउने तथा उनीहरूलाई सचेत गराउन अझै धेरै जरुरी देखिएको प्रहरी अधिकारी बताउँछन् ।

सांसदहरूले भने क्रूर किसिमका बलात्कारका घटनामा नेपालमा सजाय कमजोर भएकोसमेत बताएका छन् । बलात्कारपछि हत्याको घटनामा हाल आजीवन कारागार बस्नुपर्ने कानुन छ । त्यसका बाबजुद पनि घटना रोकिएका छैनन् ।

बलात्कारपछि हत्या गरिएकी गरिमाको अभिभावकसँग भएको सहमतिमा सरकारले वर्तमान कानुनमा पुनरवलोकनका लागि सुझाव लिन सात सदस्यीय संकल्प समिति गठन गरेको छ ।

गरिमा बलात्कार–हत्या घटनामा छानबिन समिति गठन 
गरिमा चौधरीको बलत्कारपछि हत्या घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रभु ढकालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा काठमाडौंबाट समेत अनुसन्धानमा दख्खल राख्ने अधिकारी पठाइएको छ । जिल्ला प्रहरी परिसरमा कार्यरत डिएसपी राजु अधिकारीलाई छानबिन टोलीमा राखिएको छ । घटनामा प्रहरीबाट भएका कमजोरीको विषयमा समेत छानबिन गर्ने जिम्मा समितिलाई दिइएको छ । घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोप लाग्दै आएको छ । 

भिडियो सार्वजनिक गर्ने प्रहरी हवल्दार पक्राउ

गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विक पक्राउ परेका हुन् । बारा प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवल्दार विकलाई पक्राउ गरी हिरासतमा राखिएको छ । उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ र विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ । 

स्वास्थ्य परीक्षणका लागि किशोरलाई प्रादेशिक अस्पताल कलैया लगिएको समयमा विकले बालिकासँग सम्बन्धित संवेदनशील विषयको भिडियो खिचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बारा प्रहरीका अनुसार हवल्दार विकले उक्त भिडियो आफ्नो फेसबुक मेसेन्जरमार्फत एक साथीको मेसेन्जरमा पठाएको खुलेपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीले विकलाई भदौ ८ गते पक्राउ गरेको थियो । हाल उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

सुझावित समाचार