गरिमा चौधरी हत्या प्रकरण : थप एक किशाेर नियन्त्रणमा, पक्राउ पर्नेको संख्या आठ पुग्यो

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

बाराको जितपुरसिमरा उपमहानगरपालिका– १ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका– २ निवासी कक्षा नाैमा अध्ययनरत १४ वर्षीय किशोरलाईआइतबार साँझ पक्राउ गरिएको हो। उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिए। उनका अनुसार घटनाको अनुसन्धानका क्रममा यसअघि पक्राउ परेका सुमन थापाले दिएको बयानका आधारमा किशाेरमाथि अनुसन्धान अघि बढाइएको हो।

प्रहरीले घटनामा कसको के भूमिका थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूबाट प्राप्त बयान, घटनासँग सम्बन्धित प्रमाण तथा अन्य अनुसन्धानका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

यससँगै गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या आठ पुगेको छ। यसअघि गरिमाका परिवारले दिएको पूरक जाहेरीका आधारमा प्रहरीले शनिबार पाँचजनालाई पक्राउ गरेको थियो।

गरिमाको शव फेला परेपछि प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान अघि बढाउँदै जितपुरसिमरा– २ का १६ वर्षीय सुमन थापा र जितपुरसिमरा– १ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि थप व्यक्तिको संलग्नताबारे सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धानलाई विस्तार गर्दै पक्राउको संख्या बढाएको हो।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका सबै व्यक्तिमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केहीको भूमिका र घटनामा उनीहरूको संलग्नताको प्रकृति अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले बताएको छ।

यस प्रकरणमा पक्राउ परेका अन्य व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरीले उनीहरूको पहिचान गोप्य राखेको जनाएको छ।

तीन वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या भएको घटनापछि बारासहित देशभर आक्रोश देखिएको थियो। घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासी, परिवारजन तथा विभिन्न संघसंस्थाले आन्दोलनसमेत गरेका थिए।

घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गर्दै भएको आन्दोलनपछि सरकार र पीडित परिवारबिच सहमति भएको थियो। त्यसपछि गरिमाको शव परिवारले बुझेर आइतबार अन्त्येष्टि गरेको छ।

गरिमाको अन्त्येष्टि सम्पन्न भए पनि घटनाको अनुसन्धान भने जारी छ। प्रहरीले पक्राउ परेकाहरूमाथि कानुनअनुसार अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न सबै पक्षको भूमिका पहिचान गर्ने प्रयास गरिरहेको जनाएको छ।

प्रहरीले अनुसन्धानका क्रममा प्राप्त हुने थप तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

सुझावित समाचार