श्रमदानबाट पाँच किलोमिटर ग्रामीण सडक मर्मत

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

सल्यानको छत्रेश्वरी गाउँपालिका– ५ का स्थानीयवासीले श्रमदानबाट करिब पाँच किलोमिटर ग्रामीण सडक मर्मत गरेका छन्। वर्षायाममा सडक बिग्रिएपछि एम्बुलेन्स तथा साना सवारीसाधन गाउँसम्म ल्याउन समस्या भएपछि स्थानीयवासीले श्रमदानमार्फत सडक मर्मत गरेका हुन्।

छत्रेश्वरी– ५, तीर्थपोलेदेखि ढोरेनी, काप्रेचौर हुँदै पिपलबोटसम्मको करिब पाँच किलोमिटर मोटरबाटो स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको स्थानीय लीलाधर आचार्यले जानकारी दिए। ‘भदौ ३ र ४ गते परेको भारी वर्षाका कारण सडकका विभिन्न ठाउँमा पहिरो जाने, सडक बगाउने तथा नाला नहुँदा सडक चिराचिरा पर्ने समस्या भएपछि आफैँ सडक मर्मतमा जुटेका हौँ,’ उनले भने।

वर्षाका कारण सडक बिग्रिएपछि विशेष गरी बिरामीलाई उपचारका लागि अस्पताल लैजान तथा दैनिक आवतजावतमा समस्या भएको छ। एम्बुलेन्स र साना सवारीसाधन गाउँसम्म पुग्न नसक्ने अवस्था आएपछि सडक तत्काल सञ्चालनमा ल्याउन श्रमदान गरिएको स्थानीय भीमसेन बुढाले बताए। ‘सधैँ अर्कैको भर पर्नुभन्दा सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्छ भनेर गाउँले सबै मिलेर सडक मर्मत–सम्भार गरेका हौँ,’ उनले भने।

सडक मर्मतमा ढोरेनी र काप्रेचौर क्षेत्रका ४० जनाभन्दा बढी स्थानीयवासी सहभागी भएका थिए। स्थानीयले सडकमा थुप्रिएको माटो तथा ढुंगा हटाउने, भत्किएका ठाउँ पुर्ने र सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी सडक सम्याउने काम गरेका छन्।

बुढाका अनुसार वर्षाका कारण सडकमा ठुलो क्षति पुगेपछि स्थानीयवासीको पहलमा श्रमदान गरेर सडक मर्मत गरिएको हो। उनले सडकमा आवश्यक नाला निर्माण नहुँदा हरेक वर्ष वर्षायाममा समस्या दोहोरिने गरेको बताए।

स्थानीयवासीले सडक तत्काल सञ्चालनमा ल्याउन श्रमदान गरे पनि दीर्घकालीन रूपमा सडकको स्तरोन्नति, पानी निकासका लागि नाला निर्माण तथा जोखिमयुक्त स्थानमा संरक्षणका काम गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

ग्रामीण क्षेत्रमा सडक केवल आवतजावतको माध्यम मात्र नभई बिरामी तथा गर्भवतीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउने महत्त्वपूर्ण विषय भएकाले सडकको नियमित मर्मत तथा दिगो व्यवस्थापन आवश्यक रहेको स्थानीयको भनाइ छ। स्थानीयवासीको सामूहिक श्रमदानले तत्कालका लागि सडक सञ्चालनमा ल्याए पनि वर्षायाममा सडक बिग्रिने समस्या समाधान गर्न स्थानीय तहले दीर्घकालीन योजना बनाउनुपर्ने देखिएको छ।

सुझावित समाचार