व्यक्तिगत स्वार्थ होइन, राष्ट्रहितमा केन्द्रित होऔँ : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनले हासिल गरेका व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थमा नभई पूर्ण रूपमा राष्ट्रहितमा प्रयोग गर्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय, रुपन्देहीको नवौँ स्थापना दिवसका अवसरमा आइतबार कपिलवस्तुको चन्द्रौटामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक पौडेलले संगठनका उपलब्धि र स्रोत–साधनलाई राष्ट्र तथा नागरिकको हितमा केन्द्रित गर्न आग्रह गरेका हुन्।

उनले समयअनुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम राख्न, मानव अधिकारको सम्मान गर्न तथा नागरिकको सेवा र शान्ति सुरक्षामा थप जिम्मेवार बन्न सुरक्षाकर्मीलाई निर्देशन दिए।

सीमा सुरक्षा राष्ट्रको संवेदनशील विषय भएकाले सीमापार हुने अवाञ्छित गतिविधि नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। उनले विशेषगरी लागुऔषध ओसारपसार नियन्त्रणका लागि सीमा क्षेत्रमा सूक्ष्म निगरानी बढाउन निर्देशन दिए।

महानिरीक्षक पौडेलले विपत् व्यवस्थापन एक्लो प्रयासबाट सम्भव नहुने भएकाले अन्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय र सक्रियताका साथ काम गर्न पनि आग्रह गरे। वर्तमान सरकारको सुशासनको अवधारणालाई आत्मसात् गर्दै संगठनको नीति, निर्देशन र जिम्मेवारीअनुसार कार्यसम्पादन गर्न उनले सुरक्षाकर्मीलाई निर्देशन दिए।

समारोहमा कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरीका अमर परिवारलाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले बाहिनीको स्थापना तथा हालसम्मका गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

वि.सं. २०७५ भदौ ७ गते स्थापना भएको नं. ५ विन्ध्यवासिनी बाहिनीअन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्ला पर्दछन्। बाहिनीमातहत आठ गण, ६ गुल्म, नौ सीमा सुरक्षा गुल्मसहित कुल १०६ वटा विभिन्न सुरक्षा इकाइ क्रियाशील रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो।

सुझावित समाचार