पेटभित्र लुकाएर सुन तस्करी, एयरपोर्टबाट बंगलादेशी नागरिक पक्राउ

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

पेटभित्र लुकाएर सुन तस्करी गरेको आरोपमा एक बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। दुबईबाट काठमाडौं आएका ३५ वर्षीय मोहम्मद रसेल हलदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो।

गत आइतबार बिहान साढे १० बजे विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार जाँच पार गरी पार्किङ क्षेत्रतर्फ जाँदै गर्दा शंकास्पद अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

सोधपुछका क्रममा उनले सुन ल्याएको स्वीकार गरेपछि प्रहरीले काठमाडौं मेडिकल कलेजमा लगेर एक्स–रे जाँच गराएको थियो। एक्स–रे रिपोर्टमा पेटभित्र शंकास्पद धातु देखिएपछि उनलाई पाँच दिनसम्म अस्पतालमै भर्ना गरेर राखिएको थियो। शुक्रबार शौच गर्ने क्रममा पेटबाट क्याप्सुल आकारका दुई थान सुन (अन्दाजी १५० ग्राम) बरामद भएको प्रहरीले जनाएको छ।

बरामद सुनसहित पक्राउ परेका हलदारलाई आवश्यक अनुसन्धान तथा कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

सुझावित समाचार