प्रेरक प्रसंग : संगतको प्रभाव

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

एकपटक एक राजा आफ्ना सहयोगीहरूका साथ जंगलमा सिकार खेल्न गए । सिकार नभेटिएकाले खोज्दै जाँदा उनीहरू जंगलको निकै भित्री भागसम्म पुगे । एक ठाउँमा राजा रोकिएका के थिए, नजिकै रुखमा बसेको एउटा सुगाले राजालाई देख्नासाथ अचानक चिच्यायो– साथीहरू राजा आइरहेको छ । योसँग धेरै धन छ । यसलाई उम्किन नदेओ । आओ, लुट । 

सुगाको आवाज सुनेपछि विभिन्न दिशाबाट डाकुहरू हातमा हतियार बोकेर राजा भएतिर अगाडि बढे । राजाले आफ्नो सानो सेना समूहले डाकुहरूको ठुलो समूहसँग लड्न सम्भव नभएको ठाने । त्यसैले, उनी जसोतसो त्यहाँबाट भागे र आफ्नो ज्यान जोगाउन सफल भए । 

डाकुहरूको समूहबाट निकै टाढा पुगेपछि थकित राजा एउटा रुखको फेदमा एकैछिन सुस्ताए । उनी रुखको शीतल छायामा बस्नासाथ रुखमा बसेको एक सुगाले बडो मधुर स्वरमा भन्यो– आउनुहोस् महाराज ! हाम्रा साधु महाराजको कुटीमा हजुरलाई स्वागत छ । भित्र आउनुहोस्, चिसो पानी पिउनुहोस् र विश्राम गर्नुहोस् । दोस्रो सुगाको बोली सुनेर छक्क परेका राजा साधुको कुटीमा गए र साधुलाई प्रणाम गरेर आफूमाथि घटेका सबै घटना सुनाए । 

उनले साधुसित प्रश्न गरे– हे साधु महाराज ! यी दुवै सुगाको व्यवहार र बोलीमा किन यति ठुलो अन्तर ? साधुले शान्त हुँदै भने– महाराज यो सबै संगतको प्रभाव हो । 

पहिलो सुगा डाकुहरूको संगतमा हुर्किएको हुनाले उसले डाकुहरूकै भाषा बोल्यो । दोस्रो सुगाले आश्रममा आउने साधु, महात्मा र ऋषिहरूको संगत पायो । त्यसैले उसले उनीहरूकै भाषा बोल्यो । हे महाराज ! हरेक प्राणीको जीवनमा संगतको निकै ठुलो प्रभाव परेको हुन्छ । त्यसैले, हामी सबैले खराब संगतबाट टाढै बस्नुपर्छ ।

सुझावित समाचार