विद्युत् निर्यातलाई मात्र ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन : मन्त्री श्रेष्ठ

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न नमिल्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

‘आर्थिक वर्ष ०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको तथ्य सही हो। तर, विद्युत् निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन,’ उनले भने।

नेपालको जलविद्युत् उत्पादन प्रणाली नदी प्रवाही प्रकृतिको भएकाले वर्षायाममा उत्पादन उच्च हुने र सुक्खायाममा उत्पादन घटेर आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे।

विद्युत् निर्यात र स्वदेशी विद्युत् आपूर्तिलाई एक–अर्काको विरोधाभासका रूपमा नभई उत्पादन, प्रसारण र वितरण प्रणालीका छुट्टाछुट्टै चुनौतीका रूपमा बुझ्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए।

‘अहिले हाम्रो मुख्य चुनौती विद्युत् उत्पादनमा मात्र सीमित छैन। प्रसारण तथा वितरण पूर्वाधारको क्षमता, गुणस्तर र विश्वसनीयता पनि महत्त्वपूर्ण विषय बनेका छन्। औद्योगिक करिडोरहरूमा प्रसारण तथा वितरण पूर्वाधारका कारण ट्रिपिङ, भोल्टेजमा उतारचढाव तथा विद्युत् गुणस्तरसम्बन्धी समस्या रहेको गुनासो  छ,’ उनले भने।

सुझावित समाचार