वर्षायामको बिजुली खेर जान नदिन मौसमी विद्युत् दर लागू गर्ने सरकारको तयारी

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसमी विद्युत् दर लागू गर्ने दिशामा सरकारले पहल गरिरहेको बताएका छन्। वर्षायाममा बढी भएर खेर जाने विद्युतकाे अधिकतम उपयोगका लागि मौसमी विद्युत् दर लागू गर्ने दिशामा सरकारले पहल गरिरहेको मन्त्री श्रेष्ठको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले गार्हस्थ्य उपभोक्तालाई सहुलियत दरमा भरपर्दो विद्युत् उपलब्ध गराउँदै उत्पादनमूलक उद्योगलाई स्थिर दरमा विद्युत् उपलब्ध गराउनेतर्फ सरकार प्रयासरत रहेको बताए। यसबाट राष्ट्रिय उत्पादन वृद्धि र उत्पादन लागत घटाउन सहयोग पुग्ने उनको भनाइ थियो।

मन्त्री श्रेष्ठले विद्युत् उत्पादन बढाउने विषयसँगै उत्पादित विद्युतबाट आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने विषयलाई अबको प्राथमिकतामा राख्नुपर्ने बताए। सरकारले आन्तरिक विद्युत् खपत वृद्धि, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र बाह्य विद्युत् बजार विस्तारलाई समानान्तर रूपमा अघि बढाइरहेको उनको भनाइ थियो।

चार दशकभन्दा लामो अवधिमा नेपाल विद्युत् प्राधिकरणले ऊर्जा विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्राधिकरण, निजी क्षेत्र, विकास साझेदार, वित्तीय क्षेत्र तथा अन्य सरोकारवालाको सामूहिक प्रयासबाट अहिलेको उपलब्धि सम्भव भएको बताए।

उत्पादन बढ्दै जाँदा त्यसअनुसार प्रसारण प्रणाली विस्तार र सुदृढ गर्न नसके उत्पादित विद्युतकाे पूर्ण उपयोग सम्भव नहुने उनले स्पष्ट पारे। त्यसैले रणनीतिक महत्त्वका प्रसारणलाइन, सबस्टेसन, ग्रिड सुदृढीकरण तथा अन्तरदेशीय प्रसारण पूर्वाधार निर्माणलाई तीव्रता दिन सरकारकेन्द्रित रहेको उनले बताए।

सुझावित समाचार