संसद्मा सामान्य कोरमसम्म नपुग्ने अवस्था कसरी सिर्जना हुन्छ ?
संसद्मा सांसद्हरू जनअधिकारका विविध सवालमा बहस गर्न, कानुन बनाउन, नागरिकका हक अधिकार एवं समस्या उठाउने प्रतिनिधिका रूपमा सहभागी हुनुहुन्छ । संसद्मा आफ्ना धारणा व्यक्त गर्न सांसदलाई समय निर्धारण गर्न नियमावलीमै व्यवस्था छ । सांसदहरूले संसद्मा उपस्थिति हुनु र आफ्ना धारणा व्यक्त गर्नुलाई नागरिकसँग गरेका वाचा पूरा गर्ने अवसरका रूपमा लिनुपर्छ । कहिलेकसो संसद्मा गणपूरक संख्या अपुग भएको अवस्थामा प्रश्न उठ्ने गरेको पाइन्छ । त्यसमा पनि रास्वपाकै १८२ जना सांसद रहेको अवस्थामा गणपूरक संख्या नपुगेपछि नागरिक तहबाट उठेको चिन्ता र चासोलाई हामीले गम्भीर रूपमा लिनुपर्छ । निर्वाचित भएर आएपछि संसद्मा नियमित उपस्थित हुनु एउटा जेहेनदार विद्यार्थी स्कुल वा कलेजको कक्षाकोठामा उपस्थित हुनुजस्तै हो ।
रास्वपा एक्लैका १८२ सांसद हुँदाहुँदै पनि कोरम नपुग्नु अलि अनौठो भएन र ?
संसद्को ठुलो दल हुनुको नाताले रास्वपासँग बढी नै जिम्मेवारी छ । हामी दुई तिहाइनजिक छौँ । गणपुरक संख्या नपुगेको अवस्थालाई दोहोरिन नदिन हामी गम्भीर र संवेदनशील छौँ । अब यस्ता समस्या नदोहोरिने प्रतिबद्धता व्यक्त गर्छोैँ । संसद् सञ्चालनका लागि विपक्षी दलको भूमिका पनि महत्वपूर्ण हुने भएकाले उहाँहरूको उपस्थिति पनि उत्साहजनक होस् भन्ने चाहेका छौँ । मंगलवारको बैठकमा ५ विपक्षी दलबाट ६ जना मात्रै उपस्थित रहनु पनि आफैँमा विडम्बना हो ।
भविष्यमा यस्तो अवस्था दोहोरिन नदिन के गर्नुपर्ला ?
संसदीय प्रणाली निरन्तरको अभ्यासबाट परिष्कृत र परिमार्जित हुँदै जान्छ । संसद्का बैठक सञ्चालनका सम्बन्धमा सम्माननीय सभामुखज्यू र पार्टीका सचेतकहरूका तहबाट हुने पहलकदमीमा कुनै कमीकमजोरी हुन दिइनेछैन । मुख्य कुरा सांसदहरूले नागरिक, देश र आफ्नो भूमिकालाई हृदयंगम गर्नेबित्तिकै संसद्मा उहाँहरू गयल हुनुहुन्छ भन्ने मलाई लाग्दैन । त्यसैले, हामीले अझ निर्मम भएर थप सकारात्मक कदम चाल्नेछोैँ ।