देशलाई पदक जिताउने पारा पौडीबाजको सपना

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण
देशलाई पदक जिताउने पारा पौडीबाजको सपना

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

  • सन् २०१० देखि नै नियमित रूपमा पारा एसियाली खेलकुद खेलेको नेपालको इतिहास राम्रो छैन । मात्र एकपटक कांस्य पदक जितेको छ । अब पौडी टोली अर्को पदक थप्न चाहन्छ ।

१९ वर्षकी सिर्जना सार्की कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधित्व गर्छिन् । गाउँमा हिँड्दै गर्दा पहिरोले पुरेपछि अहिले उनको खुट्टा चल्दैनन् । ह्विलचियरको सहायता लिनुपर्छ । पछिल्लो तीन वर्षदेखि सिर्जनाको दैनिकी यसरी नै चलिरहेको छ । यद्यपि, ह्विलचियरमै बसेर पनि उनले आफ्नो सपना मर्न दिएको छैनन् ।

उनै सिर्जना जापानमा हुने पारा एसियाली खेलकुदमा सहभागी हुँदै छिन् । खेल करिअरमा उनी पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन लागेकी हुन् । पछिल्लो तीन महिनादेखि लगातार अभ्यासमा व्यस्त उनी राष्ट्रलाई पदक जिताउने लक्ष्य बोकेकी छिन् । ‘पहिलोपटक देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेल खेल्दै छु । निकै उत्साहित छु,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘तीन महिनादेखि अभ्यास गरिरहेकी छु । यस्तो अवस्थामा अभ्यासस्थल आउन र जान नै सकस हुन्छ । तर पनि हार मानेको छैन । पहिलो सहभागितामै देशलाई पदक जिताउने लक्ष्य छ ।’

सिर्जनासँगै विभिन्न खेलका ३५ जनाभन्दा बढी फरक क्षमताका खेलाडीले पारा एसियाली खेलकुद खेल्दै छन् । पौडीबाट समान दुई महिला र पुरुष गरी चारजना खेलाडी सहभागी हुने पारा पौडीसंघका अध्यक्ष सरोज श्रेष्ठ बताउँछन् । सिर्जनासँगै जेनिशा कठायत, हर्कमान घर्ती र मेम्बर सिंह सेम्बाले चुनौती दिनेछन् ।

चारैजना खेलाडीलाई अहिले प्रशिक्षक सुवास श्रेष्ठले प्रशिक्षण गराइरहेका छन् । उनले पाँच महिनादेखिको प्रशिक्षक निकै फलदायी भएको बताए । ‘पारा पौडीसंघको सहयोगमा पाँच महिनादेखि अभ्यास गरिरहेका छौँ । अभ्यास गर्न र सिकाउन निकै समस्या छ । तर, जति तयारी भएको छ निकै फलदायी छन् । हामी पदक ल्याउने कोसिस गर्छौँ ।’ सुदूरपश्चिमकी जेनिशा कठायतले नौ वर्षदेखि लगातार स्विमिङ खेलिरहेकी छिन् । १० कक्षामा पढ्दै गर्दा खुट्टा गुमाउन पुगिन् । पछिल्लोपटक चीनमा भएको १९औँ एसियाली खेलकुदमा जेनिशाले पनि खेलिन् । तर, सोचेको जस्तो नतिजा आउन सकेन ।

हाल उच्च शिक्षासँगै आफ्नो खेल करिअर पनि बढाएकी जेनिशा यसपटक पदक जित्न खेल्ने बताउँछिन् । ‘पछिल्लो पटक सोचेको जस्तो भएन । यसपटक तयारी राम्रो भएको छ । पदक ल्याउने लक्ष्य राखेको छु ।’

पारा स्विमिङबाट आशा गरिएका अर्का खेलाडी हुन् हर्कमान घर्ती । उनी भर्खर २१ वर्षका भए । बागलुङ जिल्लाका उनी पछिल्लो ६ वर्षयता काठमाडौंको बौद्धमा रहेर अभ्यास गरिरहेका छन् । ‘पछिल्लो वर्ष जापानमै खेलेको थिए । घरेलु प्रतियोगिता खेल्न थालेका ६–७ वर्ष भयो । यसपटक मेडलको आशा गर्न गाह्रो छ । तर, प्रयास गर्छु ।’

पारामा मात्र एक पदक 
फरक क्षमताका खेलाडीका लागि आयोजना हुने पारा खेलकुदमा नेपालले सन् २०१० देखि नै नियमित खेलिरहेको छ । अधिकांश प्रतियोगितामा नेपालबाट तेक्वान्दो, स्विमिङ, एथलेटिक्स, टेबलटेनिस, जुडो, साइक्लिङ, पावर लिफ्टिङ, सुटिङमा सहभागी हुन्छन् ।

तर, पाँचौँपटक एसियाली खेकलुद खेल्दा मात्र एक पदक जितेको छ । तेक्वान्दोकी कीर्तिमानी खेलाडी पलेशा गोवर्धनले यो उपलब्धि हासिल गरेकी हुन् । पछिल्लोपटक चीनमा आयोजना भएको प्रतियोगितामा ओलम्पियन पलेशाले ५६ केजीमुनिको तौल समूहमा कांस्य पदक जितेकी थिइन् । नेपालले पारा एसियाली खेकलुदमा पहिलोपटक जितेको पदक नै यही हो ।  

See More On

सुझावित समाचार