झापाको कमल गाउँपालिका– ७, धरधरेका ६५ वर्षीय किसान हरिप्रसाद सेढाईंले लखनपुर साना किसान कृषि सहकारीमा रासायनिक मल आएको जानकारी पाए । बिहीबार बिहान १० बजे चर्को घाममा साइकल चलाएर चार किलोमिटर टाढा मंगलबारेस्थित सहकारीको कार्यालयमा पुगेपछि उनी अचम्ममा परे । युरिया मल सात बोरा रहेछ, किसान भने ५० जना पुगेछन् । गोलाप्रथाबाट सातजनाले एक–एक बोरा युरिया मल पाएका छन् ।
किसानकै आग्रहमा गोलाप्रथा गरेर सहकारीले सात बोरा मल बाँड्यो । ‘मल लिन पनि चिट्ठा तान्नुपर्ने दिन आयो ! म त ढिला आएँ, चिट्ठामा सहभागी हुन पाइनँ,’ उनी भन्छन्, ‘यस्तो घाममा साइकल पेलेर आएँ । रित्तो हात घर फर्कनुपर्यो ।’
सेढाईं तीन बिघा खेती गर्छन् । उनलाई कम्तीमा तीन बोरा मल आवश्यक पर्छ । धानमा युरिया मल हाल्ने समय भएको छ । तर, अहिले मल अभाव भएको उनी बताउँछन् । ‘पहिलो लटमा मल हाल्ने वेला बितिसक्यो । अब कहिले आउँछ थाहा छैन,’ उनी भन्छन्, ‘जहिले आए पनि पर्खिएर हाल्नै पर्यो । हरियो भएसम्म हाल्न पाइयो भने अलिअलि फल्छ कि ?’
समयमा मल नपाउने, उत्पादन भएपछि मूल्य नपाउने, उत्पादन लागत नै धेरै लाग्नेलगायत समस्याले किसान मर्कामा परेको उनी बताउँछन् । ‘खेती गरेर केही फाइदा छैन । तर, खेती नगरेर पनि भएको जग्गामा के गर्ने ? समयमा मल पाइँदैन । धानको मूल्य पनि छैन,’ उनी भन्छन्, ‘गत वर्षसम्म दुई हजार प्रतिघण्टामा ट्याक्टर पाइन्थ्यो । योपटक तीन हजार लाग्यो । मजदुर पनि पहिला ६ सयमा पाइन्थ्यो । अहिले सात सय भएको छ ।’
रासायनिक मल युरिया थोरै आएको र किसानको माग धेरै भएका कारण गोलाप्रथा गरेर मल वितरण गर्नुपर्ने अवस्था आएको लखनपुर साना किसान कृषि सहकारीका व्यवस्थापक टंक पराजुलीले बताए । अहिले डिएपी मल पर्याप्त रहेको उनी बताउँछन् । तर, डिएपी भने खेती तयारी गर्दाको अवस्थामा लगाइन्छ । ‘अहिले युरिया माग छ, डिएपी मल आएको छ । किसानको मागअनुसार मल नै पाइँदैन । बुधबार १८० बोरा मल आएको थियो । बिघाको एक बोराका दरले बाड्यौंँ । एक दिनमै सकियो । रहेको सात बोरा लिन ५० जना आएपछि गोलाप्रथा गर्यौँ,’ उनले भने, ‘अब सात सय बोरा मल आयो भने मात्रै किसानको माग पूरा हुन सक्छ ।’
गोलाप्रथाबाट मल पाएका किसान पनि खुसी छैनन् । ६ बोरा मल आवश्यक हुँदा बल्ल एक बोरा मल पाइएको कमल गाउँपालिका–७, ठुलो बाह्रघरेका किसान पुण्यप्रसाद चम्लागाईंले बताए । ‘मेरो ६ बिघा खेत छ । मल पाएको छ एक बोरा । अब कसरी खुसी हुनु । यसले त एक छेउ पनि पुग्दैन,’ उनी भन्छन्, ‘सरकारले सधैँ यस्तै गर्छ । युरिया चाहिएको वेलामा डिएपी दिन्छ । अनि कसरी हामीले खेती गर्न सक्छौँ ।’
धानको एउटा सिजनमा किसानलाई दुईपटक युरिया मल आवश्यक पर्छ । धान रोपेको २१ दिनदेखि २५ दिनसम्म पहिलोपटक युरिया लगाइन्छ भने त्यसको एक महिनापछि दोस्रोपटक युरिया लगाइन्छ । झापामा साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी र डिलरमार्फत मल किसानलाई उपलब्ध गराउँदै आएका छन् । साल्ट ट्रेडिङसँग डिएपी मल भए पनि युरिया नभएको झापास्थित बिर्तामोड कार्यालयले जनाएको छ । यस्तै, कृषि सामग्रीमा भने दैनिकजसो युरिया मल आइरहेको झापा कार्यालय प्रमुख दीपक राजवंशीले बताए । ‘झापाको कोटामा ३० हजार बोरा युरिया र ३० हजार बोरा डिएपी परेको छ । साउनयता १७ हजार ३३८ बोरा युरिया वितरण गरिसकेका छौँ । मल पर्याप्त नै छ । किसान डराएर आएको वेला राखौँ भन्दा अभाव भएको देखिएको हो,’ उनले भने, ‘विराटनगर कार्यालयबाट दैनिकजसो ढुवानी भइरहेको छ । त्यहीअनुसार डिलर र सहकारीलाई दिन्छौँ । कोटामा परेको मल भण्डारण गर्ने ठाउँ हामीसँग छैन ।’