२०औँ एसियाली खेलकुद : नेपालबाट २२ खेलमा १६८ जना सहभागी हुने

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट सहभागी हुने खेलाडी र अफिसियलको टुंगो लागेको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कुल २२ खेलमा १३६ खेलाडी सहभागी हुने टुंगो गरेको हो ।

२२ खेलमा कुल ३२ प्रशिक्षक सहभागी हुने पनि राखेपले टुंगो लगाएको छ । यसरी खेलाडी र प्रशिक्षक गरी कुल १६८ जना नेपालबाट आइची र नागोया पुग्नेछन् । कबड्डीबाट मात्रै सर्वाधिक २८ जना रहेका छन् । यद्यपि, ३ असोजबाट सुरु हुने प्रतियोगितामा कुन–कुन खेलका को–को पदाधिकारी कति संख्यामा पुग्ने त्यो भने टुंगो लगाइएको छैन । यता, छनोट प्रक्रिया पूरा गरे पनि इ–स्पोर्टस् टोली भने सहभागी हुन पाएन । दुई संघभित्रको अस्तित्व लडाइँले इ–स्पोर्टस् खेलाडीले एसियाली खेलकुद खेल्न नपाउने पक्का भएको हो ।

यसअघि चीनको हाङझावमा भएको १९औँ एसियाडमा नेपालले समान एक रजत र कांस्य पदक जितेको थियो । कराँतेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन् । त्यस्तै, महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । त्यतिवेला दुवैको एसियाली खेलकुदमा दोस्रो सहभागिता रहेको थियो ।

८० पुरुष ५६ महिला खेलाडी सहभागी
नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी हुँदा ८० पुरुष र ५६ महिला रहेका छन् । यस्तै, प्रशिक्षक संख्या ३२ रहेको छ । यद्यपि, यो खेल र खेलाडी संख्या १९औँ एसियालीभन्दा कम हो । यसपटक नेपालबाट आर्चरीमा समान एक पुरुष–महिला, एथलेटिक्समा चार पुरुष र दुई महिला, ब्याडमिन्टनमा समान दुई महिला पुरुष, बक्सिङमा चार पुरुष र तीन महिला, क्यानोई स्लालममा दुई पुरुष, पुरुष क्रिकेटमा १५ जना, साइक्लिङमा समान एक पुरुष–महिला तथा डान्स एन्ड स्पोर्टस्मा एक पुरुष खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै, गल्फमा तीन पुरुष र एक महिला, जुडोमा समान तीन महिला तथा पुरुष, कबड्डीमा १२–१२ पुरुष–महिला, कराँतेमा तीन पुरुष र पाँच महिला, स्केटबोर्डमा दुई पुरुष, सफ्ट टेनिसमा तीन पुरुष र एक महिला, स्क्वासमा समान एक पुरुष तथा महिला, पौडीमा तीन पुरुष र दुई महिला, टेबुलटेनिसमा समान तीन महिला तथा पुरुष खेलाडी हुनेछन् । तेक्वान्दोमा दुई पुरुष, टेनिसमा तीन पुरुष र दुई महिला, महिला भलिबलमा १२, कुस्तीमा चार पुरुष र दुई महिला तथा उसुमा आठ पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

१९औँ खेलमा पदक दुई, खेलाडी संख्या २५३
पछिल्लोपटक खेल र खेलाडी संख्या धेरै तथा पदक कम आएपछि ठुलै आलोचना भयो । अझ एक खेलका पदाधिकारी अर्को खेलको अफिसियल बनेर प्रतियोगितामा सहभागी भएका थिए । यसपटक राखेपले केही सुधार गरेको देखिन्छ । यद्यपि, अझै पदाधिकारी को–को जाने नाम टुंगाएको छैन । चीनको हाङझावमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए । १२६ पुरुष र १२७ महिला खेलाडीले भाग लिए ।

जसमा नेपालले समान एक रजत र कांस्य पदक जितेको थियो । ऐतिहासिक पदक जित्ने क्रममा कराँतेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कांस्य जितेका थिए । एसियाडमा दुवैको पहिलो सहभागिता थियो । दुवै पदकको टुंगो प्रतियोगिताको अन्त्यतिर मात्रै लागेको थियो । यसपटक राखेपले स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको सदस्यसचिव रामचरित मेहताले बताउँदै आएका छन् ।

छनोट भएर पनि वञ्चित भयो इ–स्पोर्टस् 
राखेपले सार्वजनिक गरेको सूचीमा इ–स्पोर्टस् भने समावेश छैन । यद्यपि, भियतनाममा भएको छनोट प्रतियोगिताबाट इ–स्पोर्टस् टोलीहरू पब्जी मोबाइल, अनर अफ किङ्स र मोबाइल लिजेन्ड्सले स्थान बनाएका थिए । तर, दुई संघ नेसा र इसानबिचको विवादको कारण इ–स्पोर्टस् टोलीको सहभागी नै नहुने पक्का भएको छ । अन्तर्राष्ट्रियतर्फ ध्रुव डंगोलको अध्यक्षतमा नेपाल इ–स्पोर्टस् एसोसिएसन (नेसा) संघ छ ।

अञ्जन धमलाको अध्यक्षमा राष्ट्रिय मान्यताप्राप्त इ–स्पोर्टस् संघ (इसान) रहेको छ । तर, इसानले छनोट भएर आएको टिमको नाम नै राखेपमा नबुझाएपछि खेलाडी छनोट भएर पनि प्रतियोगिता खेल्न वञ्चित भएका हुन् । नेपालसँगै छनोट खेलबाट पाकिस्तान, इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, जोर्डन, उज्वेकिस्तान, नेपाल र आयोजक जापानसँगै आमन्त्रित चीन, दक्षिण कोरिया, चाइनिज ताइपेईले जापानको टिकट पक्का गरेका थिए । अब, नेपालको स्थानमा अर्को टिमले एसियाली खेलकुद खेल्नेछ ।

सुझावित समाचार