सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ को चौथो त्रैमाससम्म तीन अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.५४ प्रतिशतको वृद्धि हो । अघिल्लो आवमा बैंकले तीन अर्ब ३६ करोड ६५ लाख नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी आठ अर्ब ४३ करोड रुपैयाँबाट बढेर नौ अर्ब पाँच करोड ११ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, फी तथा कमिसन आम्दानी पनि एक अर्ब ५८ करोड बढेर एक अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा चार अर्ब ९७ करोडबाट बढेर पाँच अर्ब १६ करोड कायम भएको बताइएको छ ।
समीक्षा अवधिमा बैंकको कुल वितरणयोग्य नाफा एक अर्ब ७० करोड ५६ लाख छ । बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ११.५३ रुपैयाँ छ । यस्तै, निक्षेप दुई खर्ब ८० अर्ब ३२ करोड रुपैयाँबाट बढेर तीन खर्ब २७ अर्ब एक करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह दुई खर्ब १४ अर्ब ४५ करोड रुपैयाँबाट बढेर दुई खर्ब ३३ अर्ब ८७ करोड पुगेको छ ।