अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय भइसकेकाले अबको मुख्य ध्यान कार्यान्वयनमा रहेको स्पष्ट पारेका छन् । मंगलबार नेपाल बैंकर्स संघका प्रतिनिधिहरूबिच अर्थतन्त्रलाई पुनः गति दिन र वित्तीय प्रणालीका समस्या समाधानका विषयमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी बैठकमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्ने सबैको साझा लक्ष्य हुनुपर्नेमा जोड दिए । छलफलमा बजेट कार्यान्वयन र अर्थतन्त्रका समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव सुन्न चाहेको बताउँदै लगानी बढाउने, उत्पादन विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने सरकारको उद्देश्य रहेको बताए । उनले भने, ‘उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली नै रहेको उल्लेख गर्दै उनले वाणिज्य बैंकहरूलाई बचतकर्ता, उद्यमी, किसान, उद्योगी, लगानीकर्ता र नयाँ युवा व्यवसायीहरू भेटिने सबैभन्दा महत्वपूर्ण संगम हो । त्यसैले बजारको वास्तविक मनोविज्ञान, आत्मविश्वास र भविष्यप्रतिको अपेक्षा बैंकरहरूले नै सबैभन्दा स्पष्ट रूपमा महसुस गर्न सक्छन् ।’
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकरहरूका तर्फबाट व्यावसायिक वातावरण सहज बनाइदिन अर्थमन्त्रीसमक्ष आग्रह गरे । उनले भने, ‘पछिल्लो समय निजी क्षेत्रमाथि भइरहेको धरपकड र अस्वाभाविक व्यवहारले व्यावसायिक वातावरण खलबलिएको विषयमा गुनासो राख्यौँ । विशेषगरी सोमबार विराटनगरका एक व्यवसायीको घरमा प्रहरीले गरेको खानतलासीका कारण सिंगो व्यावसायिक जगत् त्रसित बनेको छ । यसरी व्यावसायिक वातावरण बिग्रँदा बैंकहरूलाई कर्जा असुली गर्नसमेत धौ–धौ परिरहेकाले अर्थ मन्त्रालयले यसमा सहजीकरणको भूमिका निर्वाह गरिदिनुपर्ने आवाज हामीले उठायौँ ।’