कांग्रेस विवाद : इतर पक्षको भेला अगाडि संस्थापनको केन्द्रीय समिति बैठक

इतर पक्षले नयाँ पार्टी गठनको गृहकार्यसहित २९ साउनमा राष्ट्रिय भेला आह्वान गरेपछि संस्थापनले त्यसपूर्व २४ साउनमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ, जहाँ पार्टी एकतासहित भावी रणनीतिमाथि छलफल हुने बताइएको छ

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

अलग्गै पार्टी बनाउने तयारीस्वरूप इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्र्रतिपक्षी दल कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय भएको छ । इतर पक्षले २९ साउनमा भेला आह्वान गरेको पाँच दिन अगावै संस्थापन पक्षले २४ साउनमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । एक साताको बिचमा कांग्रेसका दुई समूहले गर्न लागेका घटनाक्रम अर्थपूर्ण छन् । 

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले २४ साउनमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको र त्यसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि भनिएको बताए । उनले उक्त बैठकमा पार्टीको आन्तरिक एकतासहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।

संस्थापन पक्ष आन्तरिक एकताका लागि गम्भीर नभएको आरोप इतरपक्षले लगाउँदै आएको छ । २९ साउनसम्मको अल्टिमेटम दिँदै इतरपक्षले उक्त अवधिसम्म सहमति नभए भेलामार्फत नयाँ दल गठनको तयारी गरेको छ । तर, संस्थापन पक्षले पार्टी एकता अहिलेको आवश्यकता रहेको भन्दै असन्तुष्ट पक्षसँग संवाद अगाडि बढाउने बताएको छ । तर, आइतबार यसमा कुनै प्रगति भएको छैन । 

इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय भेला आयोजक समिति गठन गरिसकेको छ । भेलाका लागि १६ वटा तयारी समिति पनि गठन गरिएको छ । संस्थापन इतरपक्षले १४औँ महाधिवेशनबाट निर्वाचित १११ जनालाई केन्द्रीय कमिटीमा समेट्नुपर्ने मुख्य माग अघि सारेको छ । संस्थापन पक्षले भने पुरानो कार्यसमितिलाई विशेष महाधिवेशनले विस्थापित गरेकाले त्यही कार्यसमितिलाई नयाँ कार्यसमितिमा समायोजन गर्न नमिल्ने अडान राख्दै आएको छ ।

युवा नेता सक्रिय, ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा
पार्टी औपचारिक विभाजनको डिलमा पुगेपछि कांग्रेसका युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन् । आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, पूर्वकेन्द्रीय सदस्य नैनसिंह महर, तनहुँको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठीलगायतले अभियान घोषणा गरेका हुन् । 
उनीहरूले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २० साउनमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने जानकारी दिएका छन् । सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा भेला आह्वान गरिएको छ । भेलामा संस्थापन र इतर दुवै पक्षका नेता तथा कार्यकर्ता सहभागी हुने दाबी अभियानको छ । 

भेलामा देशभरका ७५३ पालिका, ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका साथै विभिन्न तह, वर्ग र समुदायका प्रतिनिधिहरूको सहभागिता हुने अभियानको दाबी छ । भेलामा सहभागी हुन एक हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराइसकेको अभियानको दाबी छ ।

आन्तरिक किचलोले पार्टी कमजोर भएको दाबी गर्दै नेता महरले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखिएको बताए ।  कांग्रेस आन्तरिक विवादमा रुमलिनु लोकतन्त्रकै लागि चिन्ताको विषय भएको उनले बताए । ‘कांग्रेस विभाजित हुँदा प्रतिगामी शक्तिहरू हाबी हुने र लोकतन्त्र कमजोर हुने ऐतिहासिक तथ्यलाई आत्मसात गर्दै हामीले यो अभियान सुरु गरेका हौँ,’ महरले भने, ‘देश गम्भीर चुनौतीबाट गुज्रिरहेको वेला कांग्रेसको आन्तरिक एकता अनिवार्य छ ।’ नेता रञ्जित कर्णले दुवै पक्ष पार्टी एक बनाउन लाग्नुपर्नेमा जोड दिए । ‘पार्टीको आन्तरिक विवादले कांग्रेसलाई मात्र होइन, लोकतन्त्रलाई नै कमजोर बनाएको छ । एकताबद्ध भएर जानुपर्ने वेला विवाद चर्किनुले कसैलाई पनि हित गर्दैन ।’

कांग्रेस विभाजित भए लोकतन्त्र कमजोर हुने र प्रतिगामी शक्ति हाबी हुने चिन्ता अभियानको छ । ‘नेपालको राजनीतिक इतिहासले एउटा सत्य पटक–पटक प्रमाणित गरेको छ, जब नेपाली कांग्रेस कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ, जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण बन्छ । 

त्यसैले, कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय होइन, यो लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो,’ अभियानले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘दुर्भाग्यवश, यति वेला देश अनेकौँ चुनौतीबाट गुज्रिरहेको छ । सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नेपाली नागरिकहरूले ज्यान गुमाएका छन्, अर्बौँ मूल्यबराबरको धनसम्पत्तिमा क्षति पुगेको छ र नेपाली समाजको सद्भावमाथि चोट पुगेको छ । आर्थिक मन्दी, बेरोजगारी, युवाको पलायन, सुशासनको संकट र जनजीविकाका प्रश्न दिन प्रतिदिन गम्भीर बन्दै गएका छन् ।’

अभियान कुनै गुट–उपगुटका लागि नभएको पनि दाबी गरिएको छ । ‘यो अभियान कुनै व्यक्ति, कुनै गुट वा कुनै पदका लागि होइन । यो अभियान एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपालको साझा संकल्प हो । उक्त भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र अभियानको आगामी कार्ययोजना सार्वजनिक गरिनेछ,’ अभियानले भनेको छ, ‘हाम्रो विश्वास स्पष्ट छ– कांग्रेस जुट्यो भने लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र बलियो भयो भने नेपाल बलियो हुन्छ ।’

युवा नेता सक्रिय, ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा
पार्टी औपचारिक विभाजनको डिलमा पुगेपछि कांग्रेसका युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन् । आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, पूर्वकेन्द्रीय सदस्य नैनसिंह महर, तनहुँको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठीलगायतले अभियान घोषणा गरेका हुन् । उनीहरूले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २० साउनमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने जानकारी दिएका छन् । 

स्थानीय जनप्रतिनिधिको पनि दबाब अभियान
पार्टी एकताका लागि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पनि दबाब बढाएका छन् । चिरिबाबु महर्जन, भीमप्रसाद ढुंगाना, उपेन्द्र कार्कीसहितका जनप्रतिनिधिले ‘संयुक्त राष्ट्रिय दबाब अभियान’ सञ्चालन गरिरहेका छन् । पार्टी विभाजन भए सामूहिक राजीनामा दिने चेतावनी उनीहरूको छ । २७ साउनमा उनीहरूले स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएका छन् ।

सुझावित समाचार