सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्ष ०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम गरेको छ । यिनै कार्यक्रममार्फत दूरदराजको शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुगेको बैंकले जनाएको छ ।
बैंकका अनुसार गत आर्थिक वर्षमा वित्तीय समावेशीकरण र वित्तीय सचेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले सातै प्रदेशमा रहेका आफ्ना एक ४८ शाखामार्फत विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । जसमार्फत करिब १० हजार विद्यार्थी लाभान्वित भएका छन् । महिला, किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्ति तथा अन्य लक्षितवर्गलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङ, साइबर सुरक्षा तथा समग्र वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिएको बैंकको दाबी छ ।
स्वास्थ्य क्षेत्रमा बैंकले बाराको विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण तथा मोतीविन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । जसबाट आठ सय बिरामीको निःशुल्क आँखा परीक्षण भएको थियो । साथै, परीक्षणका क्रममा मोतीविन्दु पहिचान भएका करिब डेढ सय बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्थासमेत गरिएको बताइएको छ ।
त्यसैगरी, म्याग्दीस्थित भगवती स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि आवश्यक एचडिपिई पाइप हस्तान्तरणसमेत गरिएको छ । त्यस्तै, शिक्षा क्षेत्रमा बैंकले कर्णाली प्रदेश, हुम्ला जिल्लाको अदानचुली गाउँपालिका– ३ स्थित श्री छत्रपाल आधारभूत विद्यालयका दुई सय पाँचजना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ । यस कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीको शैक्षिक वातावरण सुधार गर्न सहयोग पुर्याएको विश्वास बैंकले लिएको छ । बैंकले ‘एक खाता, एक रुख’ अभियानअन्तर्गत सातै प्रदेशमा १५ सय बिरुवा रोपिएको जनाएको छ ।