धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलहरूले अपिल गरेका छन् । देवानगन्ज गाउँपालिका– ३ कप्तानगन्जमा भएको घटनालाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाहले तनाव नियन्त्रण गर्ने काममा सहयोग गर्न मंगलबार राति अपिल गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एक–अर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।’ उनले पीडितलाई न्याय दिने विश्वास दिलाउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
त्यस्तै, रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले घटनाप्रति संवेदनशील बनेर समाधानका लागि अग्रसरता लिन सरकारसहित सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएका छन् । सुनसरीलगायत क्षेत्रमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बिथोलिने गरी हिंसात्मक घटना बढ्दै गएपछि सत्तारूढ दल रास्वपा र विपक्षी दलहरू एमाले र राप्रपाले एकता एवं भाइचारा कायम राख्न अपिल गरेका हुन् ।
रास्वपा सभापति लामिछानेले अपिल जारी गर्दै भनेका छन्, ‘नेपाली समाजको सबैभन्दा ठुलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौँदेखिको सामाजिक सद्भाव हो । यसलाई खलबल्याउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्याउने गरी कुनै पनि गतिविधि नगर्न/नगराउन हामी सम्पूर्ण आमनागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गर्दछौँ ।’ कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने भन्दै उनले उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता भएकोमा जोड दिएका छन् ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र घटनालाई सामान्यीकरण गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ‘यस संवेदनशील परिस्थितिमा तत्काल शान्तिसुरक्षा कायम गर्न, आमनागरिकको जिउधनको रक्षा गर्न र परिस्थिति सामान्यीकरण गर्न हामी नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा छौँ । साथै, यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ उनको विज्ञप्तिमा छ ।
घटनालाई राजनीतीकरण नगर्न पनि उनले विशेष आग्रह गरेका छन् । ‘यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतीकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरूलगायत सम्पूर्णलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत विशेष निर्देशन दिइन्छ ।’
कांग्रेस सभापति थापाले भिडियो सन्देश जारी गर्दै सबैमा संयमित भएर सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । ‘ओमप्रकाश मेहतामाथि गोली नै चलाउनुपर्ने अवस्था किन आयो ? हामी सरकारलाई यो प्रश्न सोधिरहेका छौँ । सरकारको जवाफ पनि माग्छौँ, सरकारलाई जिम्मेवार बनाएर छाड्छौँ,’ थापाले भनेका छन् । उनले अफवाह, उत्तेजना र प्रतिशोध प्रतिशोध नभई संयमता चाहिएको बताएका छन् ।
एमाले महासचिव पोखरेलले धार्मिक, सामाजिक र जातीय सद्भाव तथा आपसी एकतालाई अक्षुण्ण राख्न सम्बन्धित क्षेत्रका समुदायलाई आह्वान गरेका छन् । त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति कुनै पनि रूपमा स्वीकार नगर्ने बताएका छन् ।
त्यस्तै, प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले मंगलबार विज्ञप्ति जारी गर्दै कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । साथै, उत्तेजनात्मक गतिविधि नगर्न, भ्रामक सूचना नफैलाउन र अफवाहबाट प्रभावित नहुन पनि अपिल गरिएको छ ।
रास्वपा सभापति रविले बोलाए सर्वदलीय बैठक
रास्वपाका सभापति रवि लामिछानेले कप्तानगन्ज घटनाका विषयमा छलफल गर्न बुधबार बिहान सर्वदलीय बैठक बोलाएका छन् । सामाजिक सद्भाव, शान्ति–सुरक्षा र द्वेष न्यूनीकरणका लागि प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल गर्न सर्वदलीय छलफल बोलाइएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बताए । उनका अनुसार बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने गरी सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् । छलफलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । त्यस्तै, जसपा, लोसपा र जनमतलाई पनि बैठकमा आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।