नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को सोमबारबाट सञ्चालनमा आएको छ । सोमबार पूर्वाधार विकासमन्त्री सुनील लम्साल, जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका अध्यक्ष तानाका अकिहिको र सुरुङ निर्माणमा संलग्न ६३ वर्षीय पूर्ण जोशीलगायतले सुरुङमार्गको उद्घाटन गरेका हुन् । जोशीले पूर्वी प्रवेशद्वारमा रिबन काटेका थिए । तर, अनावरण भने मन्त्री लम्सालसहितका अतिथिहरूले गरेका थिए ।
औपचारिक कार्यक्रम भए पनि मन्त्री लम्सालले औपचारिक रूपमा कुनै मन्तव्य दिएनन् । उद्घाटनकै क्रममा उनले सञ्चारकर्मीको प्रश्नमा नेपाललाई सुरुङमार्ग आवश्यक रहेको बताउँदै थप परियोजना निर्माण गरिने बताए । यद्यपि, यसअघि हराएको (नष्ट) भनिएको शिलान्यासको ताम्रपत्र पुनर्स्थापना गरिने उनले बताए । निर्माणको समयमा सडक विभागमा सुरक्षित राखिएको त्यो ताम्रपत्र जेन–जी आन्दोलनको आगजनीमा परेर नष्ट भएको बताइएको छ ।
कार्यक्रममा जापानी राजदूत मायदा तोरुले यो परियोजनाबाट शीघ्र रूपमा सामाजिक तथा आर्थिक लाभ मिल्ने बताए । यसले नेपालको पूर्वाधार विकासमा नयाँ अध्याय थप गरेको उनले बताए । यस्तै, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले कठिन भौगोलिक अवस्थामा सुरुङ सञ्चालनमा आउनु स्वागतयोग्य भएको बताए ।
योसँगै सोमबारदेखि नै सुरुङमार्ग एम्बुलेन्स, सुरक्षा निकायलगायत आकस्मिक सेवाका सवारीसाधनलाई खुला भएको छ । अब क्रमशः अन्य सवारीसाधनलाई पनि सुरुङमार्ग खुलाइनेछ ।
अक्सिजन प्रवाह गर्न एयर भेन्टिलेसन
सुरुङमार्गमा अक्सिजन प्रवाह गर्न एयर भेन्टिलेसन जडान गरिएको छ । यसैगरी, मोबाइलको नेटवर्क नलाग्ने भएकाले टेलिफोन जडान गरिएको छ । मार्गभित्र हिट्स एफएफ, मेट्रो ट्राफिक एफएम, रेडियो कान्तिपुर, रेडियो नेपाल, रेडियो पर्यावरण, रेडियो अडियो र रेडियो नमोबुद्ध भने सुन्न सकिनेछ ।
सुरुङमार्गलाई उज्यालो बनाउन डेडिकेटेड फिडरमार्फत दुई मेगावाट विद्युत् निरन्तर आपूर्ति गरिनेछ । कुनै कारणवश विद्युत् अवरुद्ध भएमा आन्तरिक डिजेल प्लान्टबाट १५ देखि ३० सेकेन्डमा विद्युत् आपूर्ति गरिनेछ ।
सुरुङमार्गभित्र अग्नि नियन्त्रणको समेत व्यवस्था गरिएको छ । सुरुङमार्गभित्र गतिको सीमा तोकिएको छैन । तर, गाडी ओभरटेक भने गर्न पाइनेछैन । साथै, विपरीत लेनमा पनि जान नपाइने व्यवस्था गरिएको छ ।