नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’ सोमबारदेखि सञ्चालनमा आउँदै छ । सोमबार बिहान १०ः३० बजे पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानिज राजदूत माएदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल अध्यक्ष मिजुकी मात्सुजाकीलगायतको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले सुरुङमार्गको उद्घाटन भएसँगै पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायलगायत आकस्मिक सेवाका सवारीसाधनलाई मात्रै खुला हुने बताए । त्यस्ता गाडीको आगमनका आधारमा सुरुङमार्गको प्राविधिक परीक्षण पनि हुनेछ । त्यसपछि साउनको अन्तिम साता वा भदौ पहिलो सातादेखि अन्य नियमित सवारीसाधनलाई पनि सुरुङमार्ग खुला हुने उनले बताए । सुरुङमार्गमा एम्बुलेन्सजस्ता आकस्मिक सेवाका सवारीसाधनलाई शुल्क लाग्नेछैन । अन्य सवारीसाधनले भने तोकिएको शुल्क तिर्नुपर्छ ।
सुरुङमार्गमा अक्सिजन प्रवाह गर्न एयर भेन्टिलेसन जडान गरिएको छ । सुरुङमार्गमा व्यक्तिको मोबाइल नेटवर्कले भने काम गर्नेछैन, सोही कारण टेलिफोन जडान गरिएको छ । सुरुङमार्गलाई उज्यालो बनाउन डेडिकेटेड फिडरमार्फत दुई मेगावाट विद्युत् निरन्तर आपूर्ति गरिनेछ । कुनै कारणवश विद्युत् अवरुद्ध भएमा आन्तरिक डिजेल प्लान्टबाट १५ देखि ३० सेकेन्डमा विद्युत् आपूर्ति गरिनेछ ।
सुरुङमार्गभित्र अग्नि नियन्त्रणको समेत व्यवस्था गरिएको छ । सुरुङमार्गभित्र गतिको सीमा तोकिएको छैन । तर, गाडी ओभरटेक भने गर्न पाइनेछैन । साथै, विपरीत लेनमा पनि जान नपाइने व्यवस्था गरिएको छ । परियोजनामा मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग छन् । त्यसमा मुख्य टनेलमा नियमित सवारीसाधन गुड्न पाउनेछन् । त्यसमा कुनै दुर्घटना भएमा रेस्क्यु टनेलमार्फत उद्धार गरिनेछ । सुरुङमार्ग सञ्चालन गर्ने सेवाप्रदायक कम्पनीले नै त्यसको काम गर्नुपर्नेछ ।
पश्चिम धादिङको सिस्नेखोलाबाट सुरु भएको सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । २६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख ०८१ र २,५५७ मिटरको रेस्क्यु टनेल भने २२ साउन ०८० मा छिचोलिएको थियो । मुख्य टनेल नियमित यातायात प्रयोजन र रेस्क्यु टनेल उद्धारकार्यमा प्रयोग हुनेछ । पछि ट्राफिक बढेको अवस्थामा रेस्क्यु टनेल विस्तार गरेर नियमित रूपमा सञ्चालन गर्ने तयारी छ । यो सुरुङमार्ग हालको सडकभन्दा २.८ किमि छोटो छ । सुरुङमार्गबाट काठमाडौं भित्रिँदा ३३ मिनेट र काठमाडौंबाट बाहिरिँदा २३ मिनेट समय बचत हुनेछ ।