सेवालाई थप नागरिकमैत्री बनाउने र अन्य निकायसँगको समन्वयका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा युनिफर्मविना प्रहरी परिचालन थालेको छ । बोर्डर इन्टरएक्सन टिम (बिआइटी) नाम दिएर भारतसँगको ६ नाकामा यस्तो टोली खटाइएको हो ।
झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको डन्डा, बाँकेको जमुनाह र कैलालीको त्रिनगरमा बिआइटी परिचालन गरिएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार रूपन्देही पुगेर परिचालनको शुभारम्भ गर्दै प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन् ।
सफारी सुटमा खटिने यस्ता सुरक्षाकर्मीको मुख्य जिम्मेवारी नागरिकहरूको सहायता भएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले बताए । ‘यसको मुख्य उद्देश्य सेवाको प्रभावकारिता बढाउने नै हो, फौजी संगठनले यसरी सादा पोसाकमा टोली परिचालन गर्ने अभ्यास पनि छ, त्यसैको आधारमा हामीले पनि पाइलट प्रोजेक्टका रूपमा सुरु गरेका हौँ,’ उनले भने, ‘तीन महिनाको अध्ययन प्रतिवेदनपछि कति प्रभावकारी भयो मूल्यांकन गरेर थप कसरी अघि बढाउने भन्ने तय हुन्छ ।’
चार ‘स’को अवधारणामा बिआइटी सुरु गरिएको डिआइजी कार्कीले बताए । सहायता, सहजीकरण, समन्वय र सहकार्यको जिम्मेवारी यस्तो टोलीलाई दिइएको छ । कतिपयले युनिफर्म लगाएका सुरक्षाकर्मीसँग कुरा गर्न तथा समन्वय गर्न अप्ठ्यारो मान्ने गरेकाले सादा पोसाकमा यस्ता टोली परिचालन गर्न थालिएको सशस्त्र प्रहरीका प्रवक्ता कार्कीको भनाइ छ ।
के छन् जिम्मेवारी ?
टोलीलाई सीमा क्षेत्रमा नागरिकलाई सहायता गर्ने मुख्य जिम्मेवारी दिइएको छ । विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र वृद्धवृद्धाहरूको सहजीकरण गर्ने गरी मानव बेचबिखन नियन्त्रण तथा उद्धार गर्न भनिएको छ । त्यस्तै, प्रतिबन्धित लागुऔषध, वन्यजन्तुलगायतका सामग्रीहरूको निगरानी, नियन्त्रण तथा चेकजाँचका काममा पनि खटाइएको छ । प्रत्येक सिफ्टमा एक महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ देखि साँझ ८ बजेसम्म बिआइटी टोली खटिनेछ । यस्तो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकाहरूमा परिचालन हुने सशस्त्र प्रहरीले जनाएको छ ।