एनआइसी एसिया क्यापिटलले चालू आवमा निक्षेप सदस्य सेवाअन्तर्गत नि:शुल्क डिम्याट तथा मेरो सेयर खाता सेवा सञ्चालन गर्ने भएको छ । क्यापिटलका अनुसार यस आवमा एनआइसी एसिया बैंक तथा क्यापिटलका शाखामार्फत ग्राहकलाई नि:शुल्क डिम्याट खाता खोल्ने सुविधा उपलब्ध गराइने बताइएको छ । साथै, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा पनि पूर्ण छुट गरिएको छ । अहिले सबै सेवा डिजिटलाइज रूपमा उपलब्ध गराइएको छ ।
त्यस्तै, विद्यार्थीलाई धितोपत्र बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्दै उनीहरूलाई लगानीतर्फ आकर्षित गर्न तथा धितोपत्र बजारमा सहभागी गराउने उद्देश्यले क्यापिटलले विद्यार्थी डिम्याट सेवा योजना पनि सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत नि:शुल्क डिम्याट खाता, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट तथा नि:शुल्क मेरो सेयर खाता रजिस्ट्रेसन सेवा समावेश छन् ।
यसबाहेक हितग्राही खातावालाले एकमुस्ट नौ सय ९९ रुपैयाँ भुक्तानी गर्दा आजीवन डिम्याट खाता नवीकरण सुविधा र एक हजार तिर्दा आजीवन मेरो सेयर खाता नवीकरण हुने सेवा पनि उपलब्ध गराइएको छ । क्यापिटलका अनुसार उक्त आजीवन डिम्याट र मेरो सेयर सुविधा मिति यही साउन मसान्तसम्म उपलब्ध हुनेछ ।