दाङमा गाँजा सेवन गर्ने महिलालाई २० दिनको कैद सजाय

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

दाङ जिल्ला अदालतले एक महिलालाई गाँजा सेवनको कसुरमा २० दिन कैद सजाय सुनाएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नं. ८ ढिकपुर बस्ने दुर्गादेवी सार्कीलाई अदालतले लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (क) बमोजिम गाँजा सेवनको कसुरमा निजलाई २० दिन कैद हुने फैसला गरेको हो। 

२०८२ साल कात्तिक ९ गते प्रहरी टोलीले गस्ती गर्ने क्रममा दुर्गादेवी सार्कीको घरमा खानतलासी गरेको थियो। सो क्रममा उनको घरको भुइँतलामा रहेको भकारीभित्र सेतो बोरामा लुकाइराखेको अवस्थामा १ किलो ९६५ ग्राम गाँजा फेला परेको थियो । प्रहरीले उक्त गाँजा र उनको साथमा रहेको मोबाइल बरामद गरी उनलाई पक्राउ गरेको थियो। अनुसन्धान र अदालतको बयानका क्रममा प्रतिवादी सार्कीले आफूलाई विगत ४ वर्षदेखि पेट फुल्ने समस्या भएको र सोको औषधिका रूपमा गाँजा सेवन गर्ने गरेको बताइन्। उनले घरमा पालेका भेडाहरू बिरामी हुँदा खुवाउनका लागि खेतबारीमा आफैँ उम्रिएको गाँजा संकलन गरी राखेको र बिक्री गर्ने उद्देश्य नरहेको जिकिर गरेकी थिइन्। 

जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले उक्त मुद्दामा फैसला गर्दै प्रतिवादीले व्यावसायिक रूपमा गाँजा उत्पादन, खरिद–बिक्री वा ओसारपसार गरेको नदेखिए पनि सेवनका लागि संचय गरेको ठहर गरेको छ। सोहीअनुसार उनलाई कैद फैसला सुनाएको हो।  

उनी मुद्दाको अनुसन्धानका क्रममा २०८२ कात्तिक ९ देखि २०८२ मंसिर २ गतेसम्म थुनामा बसिसकेकाले सोही अवधिलाई कैद सजायमा गणना गरी उनले कैद भुक्तान गरिसकेको ठहर गरिएको छ। साथै, उनलाई अपराधपीडित राहत कोषमा २०० रुपैयाँ शुल्क  बुझाउन आदेश दिइएको छ। 
 

See More On

सुझावित समाचार