गोली हानेर लागुऔषधसहित ६ जना पक्राउ, दुईजना ज्यानसम्बन्धी कसुरका फरार व्यक्ति

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सिराहाको लहान नगरपालिका- ३, अस्पताल चोक क्षेत्रमा गोली प्रहार गरी लागुऔषधसहित पक्राउ गरेकाे छ। व्यक्तिमध्ये दुईजना ज्यानसम्बन्धी कसुर मुद्दाका फरार व्यक्तिहरू रहेको खुलेकाे छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार प्रहरीले आत्मरक्षाको लागि गोली चलाउँदा बायाँ खुट्टामा गोली लागेर घाइते अवस्थामा पक्राउ गरिएका सप्तरीको रूपनी गाउँपालिका- १ का करिब ४२ वर्षीय मो. नाजिर मियाँ भनिने मो. नसिर ज्यानसम्बन्धी कसुर मुद्दाका फरार अभियुक्त रहेको खुलेको हो।

मिया ज्यानसम्बन्धी कसुर मुद्दामा सप्तरी जिल्ला अदालतको ३२ साउन २०८२ को फैसलाअनुसार २५ वर्ष कैद सजाय भई सुनसरीको झुम्कास्थित कारागारमा कैद सजाय भुक्तान गर्ने क्रममा जेन–जी आन्दोलन हुँदा सोही वर्षको २४ भदौमा फरार भएका अभियुक्त रहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। 

त्यस्तै, लागुऔषध कारोबारीहरूको समूहमा पक्राउ परेकामध्ये सप्तरीको बोदेबर्साइन नगरपालिका- २, नेङ्डाका २८ वर्षीय शम्भुप्रसाद यादवविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा १३ साउन २०७७ र ५ फागुन २०८२ मा दुईपटक गरी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका फरार प्रतिवादी रहेको उनले बताए। लागुऔषध बिक्री-वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले कारोबारीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि पाँच राउन्ड गोली चलाएर बिहीबार अपराह्न एक भारतीयसहित ६ जनालाई पक्राउ गरेको थियो।

प्रहरीले चलाएको गोली लागेर ज्यानसम्बन्धी कसुर मुद्दाका फरार अभियुक्त नसिर र अर्का भारतीय युवक घाइते भएपछि उनीहरूसहित ५ जनालाई पक्राउ गर्नुका साथै दुई सय ४३ ग्राम खैरो हिरोइन, स ३ प ८१८५, स ११ प ८०५ नम्बरको गरी दुई थान मोटरसाइकल र सात थान मोबाइलसमेत बरामद भएको थियो।
 

See More On

सुझावित समाचार