एमालेले समर्थन फिर्ता लिएपछि बिहीबार बागमती प्रदेश सरकार पुनर्गठन गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रीहरूको कार्यविभाजन गर्दै रिक्त रहेका मन्त्रालयमा कांग्रेसका मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीको सिफारिसअनुसार कार्यविभाजन स्वीकृत गरेका हुन् । यससँगै आठ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री बानियाँको नेतृत्वमा शिवराज अधिकारीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपालले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, प्रभात तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय तथा बिनु रायमाझी पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।