प्रधानमन्त्रीले गरे तयारी पोसाक उद्योगीसँग छलफल : उद्योग र निर्यात प्रवर्द्धन गर्न काउन्सिल गठन गरिने

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

सरकारले पोसाक तथा कपडा उद्योगको उत्पादन तथा निर्यात प्रवद्र्धन गर्न काउन्सिल गठन गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सम्बन्धित क्षेत्रका उद्योगी–व्यवसायीको मागबमोजिम काउन्सिल गठन गर्ने प्रतिबद्धता गरेका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको विकास र विस्तारका निम्ति सरकार सबै किसिमको सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता जनाए । स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योग (टेक्सटाइल)को विकास र प्रवद्र्धनमा सरकारले जोड दिइरहेको उनले बताए ।

छलफलमा संघका पदाधिकारीको मागबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहने गरी ‘टेक्सटाइल एन्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन गर्ने काम तत्काल अघि बढाउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीलाई निर्देशन दिए । काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवद्र्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा पदाधिकारीले गरेका छन् । छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा रहेका थिए ।

पदाधिकारीले राखेको मागबमोजिम प्रधानमन्त्री शाहले निजी क्षेत्रका तयारी पोसाकका रुग्ण उद्योगहरूलाई समेत तुरुन्तै सुचारु गर्न उद्योग मन्त्रालयलाई थप निर्देशन दिए । त्यस्तै, उनले स्वतन्त्र व्यापार सम्झौता (एफटिए) र वैदेशिक लगानी (एफडिआई) ल्याउन तत्कालै काम गर्ने, अमेरिकामा तयारी पोसाकलगायतका वस्तु रोकिएको र ‘टेस्टिङ सर्टिफिकेसन’ नभएकाले अब त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए । ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ उद्देश्य पूरा गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरिने पनि उनले प्रतिबद्धता जनाए ।

सुझावित समाचार