बागमती सरकारबाट बाहिरिँदै एमाले

एमाले–नेकपा सत्तासमीकरणका लागि २ सिट अपुग, राप्रपा (१२), नेमकिपा (३) वा हाम्रो नेपाल पार्टी (२) निर्णायक

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

एमाले मन्त्रीहरूले बुधबार बिहान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा बुझाउने तयारी छ । प्रदेश सरकारमा सहभागी एमालेका ६ मन्त्रीको मंगलबारको बैठकले बुधबार बिहान मुख्यमन्त्रीसमक्ष सामूहिक रूपमा राजीनामा बुझाउने र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारी गरेको हो । 

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीको केन्द्रीय निर्देशनअनुसार सरकारबाट बाहिरिने निर्णय भएको बताए । ‘केन्द्रको निर्णयअनुसार सरकारबाट बाहिरिने प्रक्रिया अघि बढेको छ । मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाउनेछन् र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइनेछ,’ उनले भने ।

बानियाँ नेतृत्वको सरकारमा एमालेका डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, मधुसूदन पौडेल कृषि, पशुपन्छी, वन तथा वातावरण, जयराम थापा श्रम, रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापामगर स्वास्थ्य र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री थिए । 

प्रदेश सरकारले १ साउनबाट मन्त्रालयको संख्या १४ बाट घटाएर आठ कायम गर्ने क्रममा एमाले र कांग्रेसका ६ जना मन्त्रीलाई विनाविभागीयमन्त्री बनाइएको छ । जसअनुसार एमालेका ६ मन्त्रीमध्ये रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, स्वास्थ्यमन्त्री किरण थापामगरलाई विनाविभ(ागीयमन्त्री बनाइएको छ । उनीहरूलाई मुख्यमन्त्री बानियाँले उनीहरूले सम्हाल्दै आएका मन्त्रालयअन्तर्गतकै विषयगत जिम्मेवारी दिएका छन् ।

वामगठबन्धनको तयारी
प्रदेश सरकारबाट बाहिरिए पनि केन्द्रमा एमाले र नेकपाबिच वामगठबन्धनको सम्भावनाबारे छलफल भइरहेको बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपालियाले बताए । ‘अहिले एमाले सरकारबाट बाहिरिए पनि बागमतीमा वामगठबन्धनको सरकार बन्न सक्छ,’ उनले भने, ‘यसका लागि केन्द्रीय तहमा छलफल चलिरहेको छ ।’

यद्यपि, बागमती प्रदेशमा वामगठबन्धनका लागि अंकगणितले उनीहरूलाई सहज बहुमत नदिने देखिन्छ । बागमती प्रदेश सभामा कुल ११० सदस्य भए पनि हाल ६ पद रिक्त रहेकाले कार्यरत सदस्य संख्या १०४ छ । सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ । हाल प्रदेश सभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् । 

यहाँ कांग्रेस र नेकपा मिल्दा ६२ सांसद पुग्ने भएकाले सहज बहुमत बन्छ । तर, एमाले र नेकपा मिल्दा ५१ सांसद मात्रै पुग्ने भएकाले सरकार गठनका लागि थप दुई सांसद आवश्यक पर्छ । बागमती प्रदेश सभामा १२ सांसद रहेको राप्रपाले एकपटक एमाले र तत्कालीन माओवादीसँगको गठबन्धनमा सरकारमा सहभागिता जनाए पनि त्यसयता बाहिर बस्दै आएको छ ।

अहिले पनि राप्रपाले कुनै पनि गठबन्धनलाई समर्थन गर्ने संकेत दिएको छैन । यद्यपि, राप्रपाका संसदीय दलका नेता उद्धव थापाले परिस्थितिलार्ई मूल्यांकन गरेर मात्रै अगाडि बढ्ने बताएका छन् । तीन सांसद रहेको नेपाल मजदुर किसान पार्टीले परम्परागत रूपमा प्रतिपक्षमै बस्ने नीति लिँदै आएको छ ।यही कारण दुई सांसद रहेको हाम्रो नेपाली पार्टी अहिले बागमतीको नयाँ सत्तासमीकरणको निर्णायक शक्ति बनेको छ । यद्यपि, राप्रपा पनि अहिलेको अवस्थामा बागमती प्रदेशमा निर्णायक शक्ति हो ।

हाम्रो नेपाल पार्टीलाई सरकारमा आउन प्रस्ताव
वामगठबन्धनको सम्भावना बढेसँगै एमाले र नेकपाले हाम्रो नेपाल पार्टीसँग औपचारिक रूपमा सहकार्यको प्रस्ताव गरेका छन् । हानेपाका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले एमाले र नेकपाले सरकारमा सहभागी हुन तथा नयाँ समीकरणमा साथ दिन प्रस्ताव गरेको पुष्टि गरे । उनका अनुसार दुवै दलले विगतको सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् । ‘हामी सधैँ संवादका लागि तयार छौँ । तर, नागरिकमा व्यवस्थाप्रति वितृष्णा बढ्ने गरी सत्ता परिवर्तनको खेल मात्रै हुनुहुँदैन । जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर मात्रै कुनै निर्णय हुनुपर्छ,’ उनले भने ।

सुझावित समाचार