सरकारले विशेष आर्थिक क्षेत्र (सेज)भित्रका उद्योगहरूलाई सम्पूर्ण बक्यौता एक साताभित्र बुझाउन निर्देशन दिएको छ। एक साताभित्र भाडा नतिरे सम्बन्धित उद्योगको बिजुली र खानेपानी सेवा काटिने सेज प्राधिकरणको चेतावनी छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवको सक्रियतापछि प्राधिकरणले विभिन्न विशेष आर्थिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूको भाडा, सेवा शुल्क तथा अन्य रकमको विवरण सार्वजनिक गर्दै तत्काल बक्यौता असुली गर्न निर्देशन जारी गरेको हो।
मन्त्री यादवले सरकारी सम्पत्ति प्रयोग गरेर वर्षौंदेखि भाडा नतिर्ने उद्योगलाई अब कुनै पनि बहानामा छुट नदिन निर्देशन दिएपछि प्राधिकरणले बक्यौता उठाउन पत्र काटेको छ।
प्राधिकरणले तयार गरेको बक्यौता विवरणअनुसार केही उद्योगले नियमित रूपमा भाडा तिरे पनि धेरै उद्योगले लामो समयदेखि भाडा नतिरेका कारण करोडौँ रुपैयाँ उठ्न बाँकी छ। कतिपय उद्योगले आंशिक रकम बुझाएका छन् भने कतिपयले सम्झौताअनुसारको भाडासमेत तिरेका छैनन्।
सेज व्यवस्थापनका अनुसार सम्बन्धित उद्योगहरूलाई पटक–पटक लिखित तथा मौखिक रूपमा भाडा तिर्न आग्रह गरिए पनि अपेक्षित रूपमा रकम नआएपछि कानुनी प्रक्रिया अघि बढाइएको हो। अन्तिम सूचना जारी गरिएकाले तोकिएको सात दिनभित्र बक्यौता नतिर्ने उद्योगमाथि सेवा बन्द गर्ने, सम्झौता कार्यान्वयन गर्ने तथा आवश्यक परे थप कानुनी कारबाहीसमेत गरिने तयारी गरिएको छ।