फ्रान्सका एम्बाप्पे गोल्डेन बुटको प्रमुख दाबेदार

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

विश्वकप फुटबल प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट, उत्कृष्टलाई गोल्डेन बल तथा उत्कृष्ट गोलरक्षकलाई गोल्डेन ग्लोब्स प्रदान गरिन्छ । २३औँ संस्करणको विश्वकपमा फ्रान्सका कप्तान केलियन एम्बाप्पे गोल्डेन बुटको दाबेदारका रूपमा देखिएका छन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पारेका हुन् । चालू विश्वकपमा तेस्रो स्थानका लागि आइतबार बिहान भएको प्रतिस्पर्धामा फ्रान्स इंग्ल्यान्डसँग ६–४ ले पराजित भएको थियो । सो खेलमा एम्बाप्पेले दुई गोल गरेका थिए । 

यही गोलसँगै उनले अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा गोल संख्या १० पुर्याउँदै गोल्डेन बुटको दाबेदारी दिएका हुन् । फिफाले सन् १९८२ को संस्करणदेखि सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट दिन थालेको हो । विश्वकपमा अहिलेसम्म लगातार दुईपटक गोल्डेन बुट कसैले जित्न सकेका छैनन् । इंग्ल्यान्ड, जर्मनी र इटालीका समान दुई खेलाडीले गोल्डेन बुट हात पारेका छन् । फ्रान्स, ब्राजिल, बुल्गेरिया, रसिया, कोलम्बिया र क्रोएसियाका समान एक खेलाडीले गोल्डेन बुट जितेका छन् । 

गोल्डेन बुट दौडमा एम्बाप्पेभन्दा मेसी दुई गोलले पछि छन् । अहिले एम्बाप्पे दुईपटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्ने सँघारमा छन् । उनले सन् २०२२ मा कतारले आयोजना गरको विश्वकपमा गोल्डेन बुट जितेका थिए । इंग्ल्यान्डविरुद्ध दुई गोल गरेसँगै एम्बाप्पेले विश्वकपमा सर्वाधिक २२ गोलको विश्व कीर्तिमान राखेका छन् । उनले यसमा पनि मेसीलाई पछि पारेका छन् । 

मेसी विश्वकपमा सर्वाधिक २१ गोलका साथ सूचीमा दोस्रो स्थानमा छन् । चालू विश्वकपमा एम्बाप्पेले चार गोलका लागि असिस्ट गरेका छन् । तेस्रो स्थानको खेलअघि गोल्डेन बुटमा मेसी अगाडि थिए । गोल र असिस्टमा पनि मेसीले एम्बाप्पेलाई पछि पारेका थिए । तर, आइतबार बिहानको खेलसँगै एम्बाप्पेले मेसीको सम्भावनालाई थप कमजोर बनाएका छन् । 

रोसी गोल्डेन बुट जित्ने पहिलो खेलाडी
विश्वकप इतिहासमा इटालीका पाब्लो रोसी गोल्डेन बुट जित्ने पहिलो खेलाडी हुन् । उनले सन् १९८२ मा ६ गोल गर्दै गोल्डेन बुट हात पारेका थिए । १९८२ विश्वकपदेखि नै आधिकारिक रूपमा गोल्डेन बुट प्रदान गर्न थालिएको हो । सन् १९९४ को विश्वकपमा दुई खेलाडीले गोल्डेन बुट पाएका थिए । विश्वकपमा पहिलोपटक दुई खेलाडीलाइ यो अवार्ड प्रदान गरिएको हो । रसियाका ओलेग सालेन्को र बुल्गेरियाका स्टोइचकोभले गोल्डेन बुट जितेका थिए । उनीहरूले समान ६ गोल गरेका थिए । 

सातपटक ६ गोल गर्नेलाई अवार्ड 
विश्वकपमा अहिलेसम्म ११ पटक गोल्डेन बुट प्रदान गरिएको छ । यसमा सातपटक ६ गोल गर्ने खेलाडीले यो अवार्ड जितेका छन् । सन् १९८२ मा इटालीका पाब्लो रोसी, १९८६ मा इंग्ल्यान्डका ग्यारी लिनेकर, १९९० मा इटालीका साल्भाटोर सिलासी र १९९४ मा रुसका ओलेग सालेन्को तथा बुल्गेरियाका ऋस्टो स्टोइचकोभले ६ गोल गरेर गोल्डेन बल जितेका थिए । सन् १९९८ मा क्रोएसियाका डेभोर सुकर, सन् २०१४ मा कोलम्बियाका जेम्स रोड्रिग्वेज र सन् २०१८ मा इंग्ल्यान्डका ह्यारी केनले ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यसैगरी पाँच गोल गरी दुईजना खेलाडीले गोल्डेन बुट जितेका छन् । 

तीनवटा विश्वकपमा एम्बाप्पेका २२ गोल 
एम्बाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोल संख्या पूरा गर्न तीन विश्वकप यात्रा तय गरेका छन् । उनले सन् २०१८ मा रसियामा आयोजना भएको विश्वकपमा चार गोल गरेका थिए । यसैगरी चार वर्षअघिको विश्वकपमा उनले आठ गोल गरे । चालू विश्वकपमा एम्बाप्पे १० गोल पुर्याउने पहिलो खेलाडी बनेका हुन् । यो सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरले १० गोल गरेयता पुरुष विश्वकपमा एउटै संस्करणमा दोहोरो अंकमा गोल पुर्याउने उनी पहिलो खेलाडी बनेका छन् ।

सुझावित समाचार