विश्वकपमा सर्वाधिक गोल भएका १० खेल

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

फिफा विश्वकप, २०२६ को आइतबार बिहान भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै तेस्रो स्थान रक्षा ग¥यो । अमेरिकामा भएको यस खेलमा कुल १० गोल भए । चालू विश्वकपमा सबैभन्दा बढी गोल भएको यही खेल हो । सन् १९५४ को विश्वकपमा अस्ट्रिया र स्विट्जरल्यान्डबिचको खेलमा सर्वाधिक १२ गोल भएको थियो । विश्वकप इतिहासमा यो नै हाई  स्कोर खेल हो ।

अस्ट्रिया ७–५ स्विट्जरल्यान्ड
१९५४ को विश्वकपमा स्विट्जरल्यान्ड र अस्ट्रिया क्वार्टरफाइनलमा भिडेका थिए । यो खेल अहिलेसम्मकै रोमाञ्चक मानिन्छ । अस्ट्रियाबाट वाग्नरले तथा स्विट्जरल्यान्डका जोसेफ हुगीले ह्याट्रिक गरेका थिए । पहिलो हाफमा स्विट्जरल्यान्डले ३–० को अग्रता लिएको थियो, त्यो पनि खेलको २० मिनेटभित्र । मध्यान्तरअघि अस्ट्रियाले आक्रामक खेल खेल्यो । अस्ट्रियाले केवल १५ मिनेटभित्र पाँच गोल गरी खेलमा ५–४ को अग्रता लियो । यो खेल चलिरहँदा ४० डिग्री सेन्टिग्रेट तापक्रम थियो । अस्ट्रियाले दोस्रो हाफमा थप गोल गरी खेल ७–५ ले बाजी मार्यो । 

ब्राजिल ६–५ पोल्यान्ड
१९३८ को फ्रान्स विश्वकपमा ब्राजिल र पोल्यान्डबिच स्टासबर्गमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको यस खेलमा कुल ११ गोल भए । खेलमा ब्राजिल ६–५ ले विजयी भयो । निर्धारित ९० मिनेटमा दुवै पक्षले ४–४ को बराबरी खेलेका थिए । अतिरिक्त समयमा ब्राजिलका लियोनिदासले थप एक गोल गरी ह्याट्रिक गरे । उनले खेलको १८, ९३ र १०४औँ मिनेटमा गोल गरेका थिए । पोल्यान्डका लागि एर्नस्ट विलिमोस्कीले चार गोल गरे । उनी चम्किँदा खेल अतिरिक्त समयमा पुगेको हो । उनले खेलको ५३, ५९, ८९ र ११८औँ मिनेटमा गोल गरेका हुन् । 

हंगेरी ८–३ पश्चिम जर्मनी
१९५४ को विश्वकपमा हंगेरी र पश्चिम जर्मनीबिच प्रतिस्पर्धा हुँदा कुल ११ गोल भएको थियो । प्रतिस्पर्धामा हंगेरी ८–३ ले विजयी भयो । स्विट्जरल्यान्डमा भएको खेलमा हंगेरीलाई जिताउन सन्डोर कोक्सिस एक्लैले चार गोल गरेका थिए । उनले खेलको तेस्रो, २१ र ६९औँ मिनेटमा ह्याट्रिक पूरा गरे । उनले चौथो गोल खेलको ७८औँ मिनेटमा गरेका थिए । यो फिफा विश्वकपमा धेरै गोल हुने तेस्रो खेलका रूपमा रहेको छ । 

हंगेरी १०–१ एल साल्भाडोर
सन् १९८२ को विश्वकपमा हंगेरीले एल साल्भाडोरमाथि १०–१ को जित निकाल्यो । विश्वकपमा विपक्षीमाथि फराकिलो गोलअन्तर भएको खेल यही नै हो । स्पेनमा भएको खेलमा हंगेरीका लागि लास्ज्लो किसले ह्याट्रिक गरेको थिए । उनले खेलको ६९, ७२ र ७६औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका थिए । हंगेरीका लागि तिबोरले दुई गोल गरे । साल्भाडोरका लागि एक मात्रै गोल लुइस रामिरेजले फर्काएका थिए । 

फ्रान्स ७–३ पाराग्वे
१९५८ को विश्वकपअन्तर्गत समूह चरणको खेलमा फ्रान्सले  पाराग्वेको सामना गरेको थियो । युरोपेली र दक्षिण अमेरिकीबिचको प्रतिस्पर्धामा कुल १० गोल भएका थिए । फ्रान्सले खेल ७–३ ले जित्यो । फ्रान्सलाई जित दिलाउन फोन्टेनले ह्याट्रिक गरे । उनले खेलको २४, ३० र ६७औँ मिनेटमा गोल गरेका थिए । पाराग्वेको लागि फ्लोरेन्सिको अमारिलाले दुई गोल गरे । 

इंग्ल्यान्ड ६–४ फ्रान्स
२०२६ को विश्वकपमा इंग्ल्यान्डले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सलाई ६–४ ले हरायो । यस खेलमा कुल १० गोल निस्किए । इंग्ल्यान्डका बेन्चमा सीमित खेलाडी बुकायो साकाले ह्याट्रिक गरेका थिए । इंग्ल्यान्डले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । फ्रान्सका लागि दुई गोल कप्तान केलिएन एम्बाप्पेले गरेका थिए । 

अर्जेन्टिना ६–३ मेक्सिको
१९३० को पहिलो संस्करणको विश्वकपमा अर्जेन्टिनाले समूह चरणमा मेक्सिकोको सामना गरेको थियो । मोन्टिभिडियो रंगशालामा अर्जेन्टिनाले छिमेकी राष्ट्रलाई ६–३ ले पाखा लगायो । यस खेलमा गुलेर्मो स्टाविलीले ह्याट्रिक गरेका थिए । उनले खेलको आठौँ, ११७औँ र ८०औँ मिनेटमा गोल गरे । मेक्सिकोका लागि म्यानुएल रोसाले खेलको ४२औँ र ६५औँ मिनेटमा गोल गरेका थिए । 

हंगेरी ९–० दक्षिण कोरिया
१९५४ को विश्वकपको समूह चरणमा दक्षिण कोरियाले हंगेरीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । हंगेरीवरुद्ध खेल्नुअघिसम्म दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, जुुरिच मैदानमा दक्षिण कोरिया सबै पक्षमा कमजोर हुँदा हंगेरीले ९–० ले खेल जित्यो । यस खेलमा फेरेन्स पुस्कासले दुई गोल गरेका थिए । यसैगरी सान्डोर कोसिसले २४औँ, ३६औँ र ५०औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । 

फ्रान्स ६–३ पश्चिम जर्मनी
१९५८ को विश्वकपमा फ्रान्स र पश्चिम जर्मनीबिच तेस्रो स्थानका लागि खेल भएको थियो । यसमा फ्रान्सले पश्चिम जर्मनीलाई ६–३ ले हराउँदै तेस्रो स्थान रक्षा गर्यो । फ्रान्सका लागि जस्ट फोन्टिाइनले चार गोल गरेका थिए । यसैगरी कोपा र युभोनले फ्रान्सका लागि समान एक गोल गरे । 

युगोस्लाभिया ९–० जैरे 
१९७४ को विश्वकपमा जैरे नवप्रवेशी राष्ट्र थियो । जैरेले समूह चरणमा युगोस्लाभियाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । लगभग एकपक्षीय खेलमा युगोस्लाभियाले जैरेलाई ९–० ले हरायो । खेलमा डुसानले ह्याट्रिक गरेका थिए । उनले खेलको आठौँ, ३०औँ र ८१औँ मिनेटमा गोल गरे । 

सुझावित समाचार