भन्सार छलीका १५ लाख रुपैयाँ बढीका सामान बरामद

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँबाट १५ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वाटर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार गस्तीमा रहेका सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले शुक्रबार जिल्लाको विभिन्न ठाउँबाट किराना सामान, तयारी कपडा, मदिरा र पेय पदार्थ तथा मोटरसाइकल बरामद गरेको हो।

जिल्लाका सीमावर्ती गाउँहरूबाट भन्सार छली अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेका १५ लाख ४८ हजार ८७० रुपैयाँबराबरका सामान बरामद गरिएको उनले बताए। बरामद गरिएका सामानहरू आवश्यक प्रक्रिया पूरा गरी बुधबार माडर भन्सार कार्यालयमा दाखिला गरिएको जनाइएको छ। पछिल्लो समय सशस्त्र प्रहरी बलले सीमानाकाबाट हुने अवैध निकासी र चोरी पैठारीविरुद्ध कडा निगरानी र गस्ती गरिरहेको गणले जनाएको छ। 

गणका अनुसार सशस्त्र प्रहरीले गत असारको तेस्रो र चौथो साता जिल्लाका विभिन्न ठाउँबाट करिब २३ लाख ३० हजार रुपैयाँ बढी मूल्यका अवैध सामानहरू बरामद गरी भन्सार दाखिला गरेको थियो।

सुझावित समाचार