दुई नयाँ अन्तरदेशीय प्रसारणलाइनको डिपिआर स्वीकृत

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

बैठकमा दुई अन्तरदेशीय प्रसारणलाइनको डिपिआर स्वीकृति भएको छ । ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहेका सन्दीपकुमार देवले २२० केभीको चमेलिया–जौलजिबी र ४०० केभीको मोतिहारी (भारत) निजगढ (नेपाल) डबल सर्किट प्रसारणलाइनको डिपिआर स्वीकृति भएको बताए ।

त्यसमा चमेलिया–जौलजिबीको निर्माण डिसेम्बर ०२८ भित्र सम्पन्न गर्ने लक्ष्य छ । यसअघि यो परियोजना २०२७ डिसेम्बरभित्र सम्पन्न गर्ने भनिए पनि प्रक्रिया नपुग्दा एक वर्ष अवधि लम्ब्याइएको छ । ‘चमेलिया–जौलजीवी २२० किलोभोल्ट डबल सर्किट प्रसारणलाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गरियो । यस आयोजनालाई डिसेम्बर २०२८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । यसमा नेपाल खण्डको लाइन नेपाल आफैँले र भारत खण्डको लाइन भारतले नै निर्माण गर्नेछ । मोतिहारी–निजगढ अन्तरदेशीय प्रसारणलाइनको हकमा भने लगानी र निर्माण मोडालिटी टुंगो लगाउनुपर्नेछ ।

योबाहेक ४०० केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनको क्षमता विस्तार गर्ने डिपिआर पनि स्वीकृति गरिएको छ । यो प्रसारणलाइनमा एचटिएलएस कन्डक्टर प्रयोग गरेर क्षमता विस्तार गरिँदै छ । ‘ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनमा एचटीएलएस कन्डक्टर प्रयोग गरी क्षमता विस्तार गर्ने कार्यसम्बन्धी विस्तृत आयोजना प्रतिवेदनलाई स्वीकृत गरियो,’ जारी विज्ञप्तिमा भनिएको छ । लखनउ–कोहलपुर–लमही अन्तरदेशीय प्रसारणलाइनको डिपिआर भने थप प्राविधिक अध्ययन गरेर टुंगो लगाउने सहमति भएको छ । ‘लखनउ (भारत)–कोहलपुर–लमही (नेपाल) ४०० केभी प्रसारणलाइनको हकमा थप प्राविधिक अध्ययन गरी टुंगो लगाउने सहमति भयो,’ विज्ञप्तिमा भनिएको छ ।

सुझावित समाचार