- भारतबाट प्रतिदिन एक सय बुलेट ग्यास आउने सुनिश्चितता भएपछि बुधबारदेखि पूर्ण तौल भएका सिलिन्डर पठाउने निर्णय, मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ कायम
नेपाल आयल निगम लिमिटेडले बुधबारबाट १४.२ किलो पूर्ण तौल भएका एलपी ग्यास सिलिन्डर प्रयोगमा ल्याउने निर्णय गरेको छ । २९ फागुनदेखि बजारमा आधा तौल (१४.२ किलो) भएका सिलिन्डर मात्रै प्रयोगमा रहेकामा चार महिनापछि उपभोक्ताले पूरा तौल भएका ग्यास सिलिन्डर पाउन लागेका हुन् ।
भारतबाट प्रतिदिन एक सय बुलेट ग्यास आउने सुनिश्चितता भएकाले बुधबारबाट पूर्ण तौल भएका सिलिन्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । यद्यपि, केही दिन आधा तौल भएका सिलिन्डर पनि बजारमा रहने उनले बताए ।
‘मंगलबारसम्म डिलरकहाँ पुगेका आधा तौल भएका सिलिन्डरहरू बिक्री गर्न दिनेछौँ,’ उनले भने, ‘आधा तौलका सिलिन्डरहरू भने उपभोक्ताले नापजाँच गरेर मात्र लिन अनुरोध छ ।’ बुधबारबाटै पूर्ण तौलका सिलिन्डर प्रयोगमा आउने र आगामी दिनमा पनि ग्यास आपूर्ति सहज रूपमा हुने भएकाले उपभोक्तालाई भिड नगरी खरिद गर्न उनले आग्रह गरेका छन् । आयल निगमले भाउ बढाएर पूरा तौलको ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ कायम गरेको छ ।
निगम प्रवक्ता ठाकुरले पूरा तौलका सिलिन्डर बजारमा आएपछि उपभोक्ताले केही समय तौलेर खरिद गर्ने बानी बसाल्नुपर्ने बताए । ‘डिलरकहाँ आधा र पूरा तौल भएका सिलिन्डर हुन सक्छन्,’ उनले भने, ‘उद्योगबाट पनि कहिलेकाहीँ प्राविधिक त्रुटि भएर तौलमा घटीबढी लोड भएका हुन सक्छन् । त्यसैले, उपभोक्ताले केही समय सिलिन्डर तौलने र तोकिएको परिमाणको ग्यास भए–नभएको परीक्षण गरेर मात्र खरिद गर्ने बानी बसाल्दा राम्रो हुन्छ ।’
भारतबाट आपूर्ति सुनिश्चित भएपछि पूरा तौलको निर्णय
उद्योगीले लामो समयदेखि पूरा तौलका सिलिन्डर प्रयोगमा ल्याउन दबाब दिइरहेका थिए । तर, आयल निगम र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट नियमित ग्यास आपूर्तिको सुनिश्चित नभएसम्म पूरा तौलका ग्यास सिलिन्डर प्रचलनमा ल्याउन मानेका थिएनन् । तर, इन्डियन आयल कर्पोरेसन (आइओसी)ले दैनिक सय बुलेट ग्यास दिने सुनिश्चित गरेकाले पूरा तौलका ग्यास प्रयोगमा ल्याउने निर्णय भएको प्रवक्ता ठाकुरले जानकारी दिए ।
उद्योगीले भने सरकारले निकै ढिला गरी पूरा तौलका सिलिन्डर प्रयोगमा ल्याएको प्रतिक्रिया दिएका छन् । ग्यास उद्योग संघका पूर्वअध्यक्ष गोकुल भण्डारीले ढिला गरी सरकारले निर्णय गरेको, तर बुधबारबाटै पूरा तौलका सिलिन्डरहरू बजार पठाउन सुरु गर्ने बताए । ‘आधा ग्यासको सिलिन्डर बजार पठाउनुपर्दा उद्योगीलाई पनि समस्या थियो, उपभोक्ताले पनि सास्ती खेपिरहेका थिए । त्यसैले छिटो पूरा तौलका सिलिन्डर प्रचलनमा ल्याउन सरकारी निकायलाई हामीले बारम्बार ताकेता गरेका थियौँ,’ उनले भने, ‘तर, निकै ढिला गरी निर्णय भएको छ । अब बुधबारबाटै सबै उद्योगले पूरा तौलका ग्यास सिलिन्डर बजार पठाउने काम सुरु हुन्छ ।’
डिलरले आधा ग्यास भरिएका सिलिन्डर बेचिसकेपछि मात्रै पूरा सिलिन्डर दिने
ग्यास डिलरमा रहेको मंगलबारसम्म डेलिभर भएका आधा तौलका सिलिन्डर सकिएपछि मात्रै पूरा तौलका ग्यास सिलिन्डर दिने जनाएका छन् । ग्यास विक्रेता महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले आधा तौलका ग्यास सिलिन्डर नसकेसम्म पूरा तौलका सिलिन्डर नदिन सबै डिलरलाई परिपत्र गर्ने बताए । ‘पहिले आधा ग्यास भएका सिलिन्डर सक्ने, त्यसपछि मात्रे पूरा तौलका सिलिन्डर उपभोक्तालाई बिक्री–वितरण हुन्छ,’ उनले भने ।